लागू औषध दुर्व्यसनीविरूद्ध लड्न सरकार कसैसँग पनि भिख नमाग्ने नीति लिन्छ: मन्त्री यादव

लागू औषध दुर्व्यसनीविरूद्ध लड्न सरकार कसैसँग पनि भिख नमाग्ने नीति लिन्छ: मन्त्री यादव

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले लागू औषध दुरुपयोग तथा ओसार पसार रोक्नको लागि सरकारले तत्काल कार्यविधि बनाउने बताएका छन्। उनले दुर्व्यसनीविरुद्ध लड्न सरकार सक्षम भएको जिकिर गरे।

बुधबार लागू औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालयद्वारा आयोजित मूल समारोहमा यादवले गृहमन्त्रालयसँग समन्वय गरेर लागू औषधको दुरुपयोगलाई रोक्नको लागि कार्यविधि बनाउने बताए । यस्तै मन्त्री यादवले त्यसको लागि छुट्टै बजेटको व्यवस्था गरेको जानकारी दिँदै तत्काल कार्यविधि बनाउन आजै निर्देशन दिने उल्लेख गरे।

उनले भने, ‘लागू औषधका जुन सेवनकर्ता छन्, उनीहरुको सुधारको लागि गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले मिलेर एउटा कार्यविधि बनाउने र सात वटै प्रदेश र सबै जिल्लाहरुमा यसलाई लागू गर्न म आजै मन्त्रालयमा निर्देशन दिन्छु।’

उनले सरकार आफ्ना युवा पुस्तालाई दुर्व्यसनीको प्रयोगबाट बचाउनको लागि सक्षम रहेको उल्लेख गर्दै निःशुल्क औषधोपचारको व्यवस्था गर्ने चर्चा गरे।

‘नेपाल सरकार सक्षम छ, आफ्नो युवा युवती बचाउनको लागि र आजैबाट अठोट लिन्छु। आजबाट स्वास्थ्य मन्त्रालय गृह मन्त्रालयसँग समन्वयन गरेर देशको युवा पुस्तालाई कसरी सुरक्षित गर्ने, लागू औषधबाट कसरी छुटाउने, निःशुल्क औषधी र उपचार कसरी दिने भन्ने कुरामा लाग्छ,’ मन्त्री यादवले भने।

यस्तै, यादवले नेपालमा विभिन्न संघ संस्थाले दुर्व्यसनीविरुद्ध सहयोग गर्दै आइरहेको भन्दै त्यसलाई स्वागत गर्ने तर, सरकारलाई नै गाली गर्ने प्रवृति भने मान्य नहुने बताए। उनले दुर्व्यसनीविरुद्ध लड्न चार मन्त्रालय सक्षम रहेको भन्दै सरकार लागू औषध दुर्व्यसनीका लागि कसैसँग भिख नमाग्ने नीति लिएर काम गर्ने दाबी गरे।

उनले भने, ‘नेपालमा विभिन्न संस्थाको सहयोग छ त्यसको हामी स्वागत गर्छौ। नेपाल सरकारको मञ्चमा बसेर नेपाल सरकारलाई गाली गर्ने प्रवृति बन्द हुनुपर्छ। कुनै पनि संस्थाको सहयोग लिन नपर्ने गरी स्वास्थ्य, गृह, युवा तथा खेलकुद मन्त्रालय मिलेर नेपालका समस्याहरु समाधान गर्ने छौँ। त्यसको लागि हामी लाग्ने छौँ। कसैको अगाडि भिख माग्न नपर्ने नीतिको साथ हामी अगाडि बढ्छौ,’ यादवले भने।

Logo