सरकारले फिट गरेको डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ: नेता साउद

सरकारले फिट गरेको डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ: नेता साउद

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस नेता एनपी साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले कूटनीतिक क्षेत्रमा तरंग पैदा गरेको भन्दै आपत्ति जनाएका छन्।

उनले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्न खोजेको र छिमेकीबीचको सम्बधलाई डाइनामाइट फिट गरेर राखेको आरोप लगाउँदै सरकारले परराष्ट्र नीतिप्रति सचेत हुनुपर्नेमा सचेत गराए।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएका हुन्।

नेता साउदले भने, ‘नेपालले आफ्नो कूटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदूत फिर्ता बोलाएका छौँ। प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो। यसले कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ।’

यस्तै उनले सरकारले हाल छिमेकी राष्ट्र भारत–चीन र विश्व शक्तिसँग अपरिपक्व कूटनैतिक व्यवहार गरिराखेको बताए। उनले बीआरआईबारे प्रधानमन्त्री दाहालले छलफल गरिरहेको भन्ने विषयमा प्रतिपक्षसँग संवाद र छलफल नै नभएको उल्लेख गरे।

साझा परराष्ट्र नीति हुनुपर्नेमा जोड दिएका नेता साउदले सरकार आफैँलाई नोक्सानी हुने खालको नीतिमा अघि बढ्न खोजिरहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।

‘राष्ट्र निर्माता पृथ्वी नारायण शाहले जुन कुरा भन्नुभएको थियो नेपाल दुई ढुंगाबीचको तरुल हो भनेर भन्नुभएको थियो। त्यसको मापन उडाउने प्रयत्न गरिएको छ। पृथ्वीनारायण शाहाले दुई ढुंगालाई निर्जिव भन्नुभएको थियो। बलियो थिए तर, निर्जिव थिए। तरुल गतिशिल थियो, तरुल वृद्धि हुँदै थियो, तरुल सजिव थियो। तर, अहिले जसरी यो सरकारले परराष्ट्र नीतिलाई, छिमेकीसँगको नीतिलाई ढुंगाको तरुलको रुपमा भन्दापनि डाइनामाइट फिट गरेर राख्ने प्रयत्न गर्नुभएको छ,’ उनले थपे, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु, सरकारलाई पनि सचेत गर्न चाहन्छु कि भोलिका दिनमा डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ। ढुंगालाई क्षति पुर्याउन सक्छ तर, डाइनामाइट पड्किसकेपछि आफू बाँकी रहन सक्दैन। यो तथ्यलाई आत्मसाथ गर्नुपर्छ।’

उनले चीनलाई हामी बीआरआईमा सम्झौता गर्न तयार छौँ भन्ने सन्देश दिने र त्यसलाई सत्ता समिकरण बनाउन प्रियोग गरी भारत र अन्तर्राष्ट्रिय समुदायलाई बीआरआईलाई रोकिराखेका छौँ भन्ने कच्चा कूटनीतिक चाल नचल्न सरकारलाई आग्रह गरे।

उक्त कार्यले नेपालको अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा घट्ने भन्दै थपे नेपालले कुटनीतिक व्यवहार गर्दा अग्रजहरुको ज्ञान, सुझावलाई लिनुपर्ने आवश्यकता औंल्याए।

Logo