नेकपा एस अध्यक्षमा रस्साकस्सी, खनाल-भुसाल भेट चर्चामा

नेकपा एस अध्यक्षमा रस्साकस्सी, खनाल-भुसाल भेट चर्चामा

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी आफ्नो महाधिवेशनको तयारीमा छ। विशेषगरी माधव नेपालपछि अबको अध्यक्ष को भन्ने विषय पेचिलो बन्दै गइरहेको छ। अध्यक्षमा भइरहेको रस्साकस्सीबीच झलनाथ खनाल र घनश्याम भुसालबीच सहमति भयो भन्ने चर्चा व्यापक थियो।

तर, दुई नेताबीच भएको भनिएको सहमति एक दिन पनि टिक्न नसकेको भनेर पार्टीपंक्तीमा नयाँ बहस सिर्जना भएको छ। सम्मानित नेता खनालले भुसाललाई अघि सारेर आफू ‘ब्याक’ भएको भनिएको एक दिन नबित्दै नेता खनालको पक्षबाट त्यस्तो नभएको भन्दै विज्ञप्ति सावजनिक भएपछि खनाल र भुसाल पक्षबीच दरार सृजना भएको बुझिएको छ।

दुई नेताहरुको भेटघाटलाई लिएर भएका गतिविधिलाई अनावश्यक उचालेर पक्ष विपक्ष बनाउने कार्यले स्वयं दुई नेताबीच नै दरार सृजना गर्ने कार्य गलत भएको नेताहरूको बुझाइ छ।

हुनपनि दुईमध्ये भुसाललाई अध्यक्षमा अघि सार्ने भन्ने विषयमा दुई नेताबीच भएको भनिएको सहमति एक दिन नपुग्दै कमजोर भइसकेको आकंलन गरिएको छ।

माधव नेपालको विकल्पमा आफू अध्यक्ष हुने भनेर दाबी गरेका दुई नेता खनाल र भुसालबीच एक दिन सहमति हुने र अर्को दिन सहमति नै नभएको भन्दै खनाल सचिवालयको तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तिले शंसय उत्पन्न गराएको छ।

अध्यक्ष नेपालविरूद्ध तयारी भएका खनाल र भुसालबीच छोटो समयमै यसरी दरार उत्पन्न भएपछि स्वयं पक्षधर कार्यकर्ताहरु नै अलमलमा परेको नेताहरू बताउँछन्।

यसैबीच एकीकृत समाजवादीका सम्मानित नेता खनालले आफूले भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट गरेका छन्। त्यतिमात्र होइन खनालको सचिवालयको तर्फबाट विज्ञप्ति नै सार्वजनिक भएपछि दुई नेताबीच थप खटपट सुरु भएको नेताहरू बताउने गर्छन्।

विहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै नेता खनालले आफ्नो दाबी जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको स्पष्ट गरेका हुन्। बुधबार खनाल निवासमा भुसालसँगको छलफलपछि उनले अध्यक्षमा भुसाललाई समर्थन गर्ने समाचार बाहिरिएको थियो।

नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै सहमति बन्ने बताए। बिहीबार मात्रैपनि सबै प्रदेशका अध्यक्षहरु खनाल निवासमै पुगेर भेटघाट गरी अधिकारसहितको सम्मानित नेताका रुपमा एकतावद्ध भएर सर्वसहमत नेतृत्व चयन गर्न अनुरोध गरेका थिए।

अघिल्लो दिन भुसाललाई सहमति दिएको भनिएको खनाल पक्ष त्यसको भोलिपल्टै फेरी किन र कसरी आफैँ नेतृत्व नछाड्ने पक्षमा उभिन पुगे भन्ने विषय रहस्यमय मै छ।

नेतृत्व छनोट प्रकृया पेचिलो वन्ने भएपछि आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न, पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्नसक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव समेत दिएका थिए।

कोशीबाट बलदेव चौधरी, मधेस प्रदेशका रामचन्द्र यादव, बागमतीका सावित्रा भुसाल, गण्डकीका श्रीनाथ बराल, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी भएका थिए ।

पार्टीका अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि छलफल गरिएको थियो।

महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ।

Logo