एकीकृत समाजवादीको महाधिवेशन नेतृत्व चयनमा केन्द्रित

एकीकृत समाजवादीको महाधिवेशन नेतृत्व चयनमा केन्द्रित

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज नेतृत्व चयनमा केन्द्रित भएको हो । 

१६ गतेदेखि शुरु भएको महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । 

केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहने व्यवस्था गरिएको छ । केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । 

अध्यक्षका लागि निवर्तमान अध्यक्ष माधवकुमार नेपाल र निवर्तमान महासचिव घनश्याम भुसाल दाबेदार रहेका छन् । यस अघि नेता झलनाथ खनालले पनि अध्यक्षमा दाबि गरेकोमा अहिले भने उनी पछि हटेका छन् । महाधिवेशनको बन्दसत्रमा धेरै जसो प्रतिनिधिले अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई नै दोहोराएर नेतृत्व दिने सुझाव दिएपछि दुवैलाई सहमतिमै नेतृत्व चयन गर्न दबाब बढाइएको छ ।

Logo