कांग्रेस बदनाम हुन थाल्यो, बीपीको सिद्धान्त अँगाल्न छाडियोः सुजाता कोइराला

कांग्रेस बदनाम हुन थाल्यो, बीपीको सिद्धान्त अँगाल्न छाडियोः सुजाता कोइराला

केन्द्रबिन्दु
322
Shares

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री एवं पूर्वमन्त्री सुजाता कोइरालाले कांग्रेसलाई एक तहका नेता तथा कार्यकताहरूले बदनाम गरिरहेको टिप्पणी गरेकी छिन् ।
कांग्रेस अहिले सिद्धान्तविहीन जस्तै भएको भन्दै बीपी कोइरालाको सिद्धान्त आत्मसाथ गरेमात्र संगठन जोगाउन सकिने पनि बताइन् ।

शनिबार काठमाडौँमा आयोजित ४२ औँ बीपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै त्री कोइरालाले पुर्खाहरूले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरुले बदनाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘हामी सबै एक भएर पार्टीलाई बचाउनुपर्छ । कांग्रेस गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरूले जन्माएर गर्भिलो इतिहास बनाएको पार्टीलाई एक तहका मान्छेहरूले बदनाम गर्न खोजिरहेका छन् । कांग्रेस अहिले बदनाम भएको छ । अब यसलाई सुधार्ने काम समग्र नेता कार्यकर्ताको हो,’ उनले अगाडि भनिन्, ‘पार्टीभित्र जसले बीपीको विरासत बोकेको छ, जसले बीपीको सिद्धान्तलाई आत्मसात् गरेको छ उसले मात्र यो पार्टीलाई बचाउन सक्छ । मलाई अरू पार्टीबाट कुनै आशा पनि छैन, सरोकार पनि छैन । तर नेपाली कांग्रेस आज सिद्धान्तविहीन भएको छ, पार्टी बचाउन ढिला भइसकेको छ ।’
सिद्धान्तविना राजीतिक पार्टी बाँच्न नसक्ने बताएकी कोइरालाले कांग्रेस अहिले त्यही अवस्थामा पुगेको बताइन् ।

डा. शेखर कोइरालाले बीपीको सिद्धान्तलाई आत्मसाथ गरिरहेको उल्लेख गर्दै उनले सबैले उनलाई समर्थन गर्नुपर्ने बताइन् । ‘शेखर कोइरालाले बीपीको सिद्धान्तलाई केही हदसम्म बचाउने काम गर्नुभएको छ । उहाँलाई हामी सबैले खुलेर समर्थन गर्नुपर्छ । बीपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो प्रयास गर्नुभएको छ,’उनको भनाइ थियो । केही दिनअघि मात्र नेतृ कोइराला विशालनगरस्थित डा. शेखरको सचिवालयमा पुगेर भावी सभापतिका रूपमा डा. शेखरलाई अघि बढाउनुपर्ने बताएकी थिइन् ।

Logo