तीन पार्टीबीच एकीकरण

तीन पार्टीबीच एकीकरण

केन्द्रबिन्दु
70
Shares

झापा । राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बूवान पार्टी नेपाल र लिम्बूवान राष्ट्रिय समितिबीच एकता भएको छ ।

झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले विचार र मुद्दा मिल्ने तीन पार्टीबीच एकीकरण गरिएको जानकारी दिए । तीन पार्टी एकीकरण भई ‘नेपाल जनमुक्ति पार्टी [नेजपा]’ गठन गरिएको उनले बताए । “पहिचानको मुद्दालाई स्थापित गर्न हामी एकीकृत भएका छौँ”, उनले भने, “हालसम्म प्राप्त भएका उपलब्धिको रक्षा गर्दै संविधान संशोधनसहित पुनःलेखन गर्न दबाबमूलक कार्यक्रम गर्छौं ।”

छ बुँदे सहमतिका साथ बनेको नेपाल जनमुक्ति पार्टीको निर्वाचन आयोगमा ९९ नम्बरमा दर्ता भएको नेजपाका नेता सञ्जुहाङ पालुङ्वाले जानकारी दिए । उनले ठूला दलले बेवास्ता गर्दा पहिचानको मुद्दा ओझेलमा परेकाले तीन पार्टी एकीकृत भएर सो मुद्दा पुनः उठाउने धारणा राखे ।

पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष भक्त खेवाङले पहिचानको मुद्दालाई जातिवादी हिसाबले अपव्याख्या गरिएको गुनासो गरे । “पहिचानबारे धेरैलाई थाहा छैन । यो सबै जातजाति, भूगोल, भाषाभाषी र इतिहासको कुरा हो । सोहीअनुसार बुझाउन आवश्यक छ”, उनले भने ।

तीन पार्टीबीच २०८० मङ्सिर १९ गते तीन बुँदे सहमति भई पार्टी एकता घोषणा भएकामा गत वैशाख २९ र ३० गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको विधान महाधिवेशनले सहमति अनुमोदन गत जेठ २९ गते निर्वाचन आयोगमा अद्यावधिक गरिएको थियो ।

एकतापछि पार्टीको संरक्षक एमएस थापा, संस्थापक सदस्य रामबहादुर तुम्बाहाङफे, वरिष्ठ नेता डिके बुद्धिष्ट, अध्यक्ष केपी पालुङ्वा, कार्यकारी अध्यक्ष केशव सूर्यवंशी र बाँकी अन्यको हकमा तत्कालीन पदाधिकारी र सदस्यको जिम्मेवारी यथावत रहेको जनाइएको छ । यस्तै, पार्टी नेता सञ्जुहाङ पोलुङ्वा, उपाध्यक्ष भक्त खेवाङ, केन्द्रीय सदस्यमा लासिम पालुङवा, एलवि पालुङ्वा, राजकुमार नाल्बो, भीम खत्री, दिनेश माबो, साधना फागो, इन्दिरा धौराली, मकल साँवा, उमा मगर, आशा लिम्बू र सुकमाया लिम्बू रहेको पार्टीले जनाएको छ ।

Logo