दुई संसदीय समिति सभापतिको निर्वाचन भोलि, आज प्रस्ताव दर्ता

दुई संसदीय समिति सभापतिको निर्वाचन भोलि, आज प्रस्ताव दर्ता

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।

सभामुख देवराज घिमिरेले ती समितिका सभापतिको निर्वाचनका लागि यही साउन ३१ गते बिहीबारको मिति निर्धारण गरेअनुसार निर्वाचन कार्यक्रम प्रकाशन गरिएको सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

निर्वाचन कार्यक्रमअनुसार समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने भनी अर्को एक सदस्यको समर्थनसहित बुधबार दिनको २ देखि ४ बजेसम्म नयाँबानेश्वर संसद् भवनस्थित महासचिवको कार्यकक्षमा प्रस्तावकले प्रस्ताव दर्ता गर्नुपर्नेछ । सोही दिन ४ः३० बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको क्रमअनुसार सूची प्रकाशित हुनेछ ।

साउन ३१ गते बिहीबार ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थक गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती समितिका सभापति चयन हुन लागेको हो । यसअघि संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको गठन नै भएको थिएन ।

Logo