भ्रष्टाचार निवारणसम्बन्धी ऐन समय अनुकूल बनाउनुपर्छः प्रचण्ड

भ्रष्टाचार निवारणसम्बन्धी ऐन समय अनुकूल बनाउनुपर्छः प्रचण्ड

केन्द्रबिन्दु
448
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार निवारणसम्बन्धी बनेको ऐन समय अनुकूल बनाउनुपर्ने बताएका छन् । बिहीबार भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधयेककाबारे राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफललाई सम्बोधन गर्दै उनले भ्रष्टाचार निवारण सम्बन्धमा २०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संशोधनको प्रस्ताव पेश गर्दाको स्थिति राजनीतिक र विज्ञान प्रविधिको विकासका हिसाबले धेरै फरक भएको भन्दै बद्लिँदो अवस्थाअनुसार ऐनको संशोधन आवश्यक रहेको बताए ।

उनले भने, ‘२०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संशोधनको प्रस्ताव पेश गर्दाको स्थितिसम्म आइपुग्दा राजनीतिक परिस्थितिमा फेरबदल आएको छ । एउटा सासन प्रणालीदेखि अर्को शासन प्रणाली आइपुगेका छौँ । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअनुसार पनि संशोधन आवश्यक छ ।’

२०५९ देखि वा विधयेक संशोधनका लागि २०७६ सालमा पेश गर्दाको समयदेखि अहिले २०८१ सम्म सूचना प्रविधिमा भएको विकासअनुसार भ्रष्टाचार निर्मूल गर्नका लागि उक्त ऐनमा संसोधन आवश्यक रहेको बताए । विज्ञान प्रविधिमा भएको नयाँ विकासअनुसार पनि उक्त ऐनमा संशोधन आवश्यक रहेको पनि उनको भनाइ छ ।

त्यसैगरी, उनले भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारे पनि व्यापक छलफलको आवश्यकता रहेको बताए ।

उनले भने, ‘आयोगले मुद्दा दर्ता गराउने बित्तिकै निलम्बन हुने स्थिति ठिक छ कि छैन ? अदालतले अन्तिम फैसला नगरेसम्म निलम्बन हुने व्यवस्था गर्ने कि नगर्ने ? के गर्दा उपयुक्त हुन्छ, सम्भव भएसम्म अन्य विज्ञसँग पनि राय सुझाव लिएर ऐनलाई परिमार्जित गर्नुपर्छ । विगतमा देखिएका समस्याहरूलाई व्यवस्थित गर्नेगरी गरियोस् । विधेयक परिमार्जनमा मेरो सहयोग रहन्छ ।’ हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने पनि उनको भनाइ थियो ।

Logo