जनार्दनले पार्टी फुटाउन लागेको भन्ने आशङ्का हट्योः प्रचण्ड

जनार्दनले पार्टी फुटाउन लागेको भन्ने आशङ्का हट्योः प्रचण्ड

केन्द्रबिन्दु
798
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउन लागेको भन्ने आशङ्का हटेको बताएका छन् । पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले शर्माले पार्टी फुटाउँछन् भन्ने आशङ्का नगर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । यस्तै उनले पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने बताए ।

उनले भने, ‘कमरेड जनार्दनले पार्टी फुटाउने कुरामा शंका छ भने त्यो शंका नगर्न म समग्र पार्टी पंक्तिलाई आह्वान गर्न चाहन्छु । पार्टी फुट्दैन भन्ने सुनिश्चित भएको छ । त्यस्तो आशंका ममा पनि थियो, तर निराधार भएको कुरा प्रमाणित भएको छ । आज बिहान मात्र शर्मासँग मैले छलफल पनि गरेका छु । अब एकतावद्ध भएर जाने हो, कसैले भन्दैमा पार्टी फुटाउने आशंका दिमागमा राख्नु परेन ।’

माओवादी केन्द्रको साउन २५ देखि २९ सम्म बसेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले १२ पृष्ठको पार्टी निर्माणसम्बन्धी र २ पृष्ठको अध्यक्ष प्रचण्डप्रति लक्षित लिखित प्रस्ताव पेस गरेका थिए । शर्माको प्रस्तावमा अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न आग्रह गरिएको थियो । यसले माओवादीभित्र नयाँ अन्तरसंघर्ष चलेको चर्चा चलेको थियो ।

Logo