परराष्ट्रमन्त्री भारत प्रस्थान

परराष्ट्रमन्त्री भारत प्रस्थान

केन्द्रबिन्दु
392
Shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी आज बिहान त्यसतर्फ गएकी हुन् । उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।

यस भ्रमणका क्रममा उनका भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।

मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए । मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना पनि सहभागी छन् ।

परराष्ट्रमन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Logo