मधेशको मुख्यमन्त्री कार्यालयअघि धर्ना बसेका अनसनकारीको समर्थनमा ऐक्यबद्धता

मधेशको मुख्यमन्त्री कार्यालयअघि धर्ना बसेका अनसनकारीको समर्थनमा ऐक्यबद्धता

केन्द्रबिन्दु
56
Shares

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेको तीस घण्टापछि अनसनकारीको समर्थनमा विभिन्न संघ संस्था तथा पेसागत संगठनहरूले ऐक्यबद्धता जनाएका छन् । विभिन्न सामाजिक संस्था तथा नागरिक समाजका संगठनहरूले प्रेस विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका हुन् ।

सिरहा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मनदकुमार साहको अगुवाइमा अधिवक्ताहरूको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह समक्ष अनसनकारीप्रति ऐक्यबद्धता रहेको पत्र पठाएका छन् ।

पुल निर्माणमा ढिलाई गरिएको कारण हिजो बुधबार साँझ सिरहा सदरमुकाम सिरहामा प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतिशकुमार सिंहको पुतला दहन गरिएको छ । प्रदर्शनमा ओर्लिएका आन्दोलनकारीहरूले अनसनकारीहरूको जीवनमा तलमाथि भएमा आन्दोलनको आँधीबेहरी उठ्ने चेतावनी दिएका छन् ।

उनीहरूले सिरहाका सांसदहरूलाई सिरहा सदरमुकाम प्रवेश निषेध गर्ने घोषणा गरेका छन् । अनसनकारीको मागलाई अविलम्ब सम्बोधन गर्न माग गर्दै सनातन हिन्दु परिषद् नेपालका अध्यक्ष मनिषकुमार यादव, समाजवादी ईन्जिनियरीङ्ग एसोसिएसन नेपाल (सीन) मधेश प्रदेशका अध्यक्ष रोशनकुमार यादव, मात्रृभूमि युवा समाज नेपालका उपाध्यक्ष डा. अविनाश पूर्वे, प्रदेश युवा सञ्जाल मधेश प्रदेशका नइम राइन लगायतले विज्ञप्ति जारी गरेका छन् ।

हुलाकी रामजमार्गमा पर्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै पूर्वघोषित कार्यक्रमअनुसार हुलाकी राजमार्ग कमला पुल संघर्ष समिति सिरहा – धनुषाका संयोजक ई प्रवीण यादव, सिरहा नगरपालिका वडा नं४ र ६ का वडाध्यक्षद्वय समसाद आलम, ईन्द्रजित यादव, औरही गाउँपालिका वडा नंं३ र ४ का वडाध्यक्षद्वय जीवछ यादव, सुरेन्द्र यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, सिरहा नगरपालिका वडा नं८ का वडा सदस्य रुपेश यादव, सनातन हिन्दु परिषद्का मनिषकुमार यादव, शैलेश यादव र शिवशंकर यादव गत मंगलबारदेखि आमरन अनसनमा बसेका छन् ।

अनसनको समय लम्बिँदै गएपछि अनसनकारीहरूको स्वास्थ्यमा समस्या देखिन थालेको छ । डा. कृष्णकुमार यादव नेतृत्वको स्वास्थ्यकर्मीहरूले अनसनकारीहरूको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

Logo