प्रहरीले जनताको मुद्दा बोक्नुपर्छः गृहमन्त्री

प्रहरीले जनताको मुद्दा बोक्नुपर्छः गृहमन्त्री

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने बताएका हुन् ।

‘प्रहरी साथीहरूलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दा पनि आइहाल्छ,’ उनले भने । सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए ।

यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकून् । सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो,’ गृहमन्त्री लेखकले भने । यस्तै उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रष्ट पारे ।

‘दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौँ भनेर भनेको होइन । २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,’ उनले भने, ‘यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो ।’ कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकको दाबी छ ।

‘यसको उदाहरण १८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उही हौँ । छलफल हामीबीच नै भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमति पुग्न सक्यौँ । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरि छाड्ने छौँ,’ उनले भने ।

साथै उनले विकास निमार्णका कामहरूलाई द्रुत गतिका अघि बढाउनका लागि यो सरकार गठन भएको बताए । उनले भ्रष्टाचार नियन्त्रण र मुलुकमा सुशासन कायम गर्न यो सरकार बनेको बताए ।

Logo