सरकारले जनताका सबैखाले निराशालाई चिर्नेछः मन्त्री भण्डारी

सरकारले जनताका सबैखाले निराशालाई चिर्नेछः मन्त्री भण्डारी

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनताका निराशाहरूको अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरू सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार लागिपरेको बताए ।

विशिष्ट परिस्थितिमा बनेको सरकारले राष्ट्रिय चुनौतीहरूलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको उनको भनाइ छ । उनले नेपालको उद्यमशीलता र औद्योगिक क्षेत्रको विकास गर्नमा आफूले ध्यान केन्द्रित गरेको बताए ।

उनले सुदूरपश्चिमेलीहरूको मौलिक पर्व गौरालाई अन्तरर्राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने बताए । विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा अहिले देशैभर तथा भारत र अमेरिकालगायतका देशहरूमा समेत मनाउन थाले पनि यसको मौलिक स्वरूपको विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने,‘गौरापर्व विगतमा कम व्यक्तिहरूले मनाउदा साँघुरो बाटोमा सीमित थियो । तर अहिले राजमार्गका रूपमा परिणत भएको छ । यसलाई राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय रूपमा मनाउन थालिए पनि यसको सांस्कृतिक महत्त्व र मौलिक तत्त्वहरूको विस्तार गर्नु जरुरी छ । गौरापर्वको विशेषतालाई पाठ्यक्रममा समावेश गर्नु जरुरी छ । पर्वको महत्त्व, गरिमा र सान्दर्भिकता देखाउन सकेमा मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिनेछ । त्यो तहमा पर्वको अध्ययन हुनु जरुरी छ । हाम्रो परिचान र संस्कृतिको विस्तारमा सबैले लाग्नुपर्नेछ । जसका लागि सुदूरपश्चिमका सांस्कृतिक क्षेत्रका प्राज्ञिक व्याक्तित्वहरूले मुख्य भूमिका निर्वाह गर्नु जरुरी छ ।’

सुदूरपश्चिम समाज काठमाडौँले आफ्नो १५ औँ साधारणसभाका अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा ‘सुदूरकी सोराई गोःरा विशेष’ पुस्तकको विमोचन गरिएको छ । उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ बिशेष गौरापर्वका विषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डा. हरिदत्त पाण्डेयले बताए ।

Logo