दुर्व्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छः पूर्वप्रधानमन्त्री नेपाल

दुर्व्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छः पूर्वप्रधानमन्त्री नेपाल

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुर्व्यसनीमा लाग्ने युवाहरूको विशाल सञ्जाल रहेको उल्लेख गर्दै त्यस सञ्जाललाई समाप्त पानुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुर्व्यसनीमा संलग्न सञ्जालले नयाँ पुस्तालाई प्रभाव पार्न, समाजलाई खतम पार्न र अपराधिक क्रियाकलापलाई प्रोत्साहन गरिरहेको उल्लेख गर्दै यसलाई निर्मूल पार्न सबैले भूमिका खेल्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘नेपालमा समेत दुर्व्यसनी र दुर्व्यसनमा लाग्नेहरूको एउटा सञ्जाल देखिएको छ । त्यो सञ्जाललाई पुरै रूपमा हामीले समाप्त पार्नुपर्छ । नसकिने कुरा केही पनि छैन । सबै युवाहरूले आफ्नो ठाउँबाट इमानदार भएर लाग्नुभयो भने नसकिने कुरा हुँदैन । त्यस्ता दुर्व्यसनीहरूलाई जेल कोच्न सकिन्छ । त्यस्ता अपराधीहरूलाई कसैले पनि संरक्षण गर्ने होइन । नयाँ पुस्तामा प्रभाव पार्न, नेपाली समाजलाई खतम पार्न र पैसाको लोभमा अत्यन्त अपराधिक क्रियाकलापहरू संलग्न हुने अपराधीहरूलाई छुट दिने, सहानुभति व्यक्त गर्ने उन्मुक्ति दिने काम गर्नु हुँदैन ।’

अहिलेका युवा तथा विद्यार्थीहरूले देशलाई अथाह माया गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ । पछिल्लो समयका युवाहरूमा अध्ययनशीलताको कमि रहेको उल्लेख गर्दै उनले मान्छेलाई योग्य र सक्षम बनाउनका लागि अध्ययनको आवश्यकता पर्ने बताए ।

दुर्व्यसनका कारण संसार नै सखाप हुने स्थिति सिर्जना भइरहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष नेपालले युवाहरूलाई नराम्रो संगत गर्न नहुने सुझाए ।
‘अहिले युवा र विद्यार्थीहरुले सबैभन्दा बढी देशलाई माया गर्नुस् । देश र देशबासीलाई माया गर्नुभयो भने मात्र तपाईँको जीवन सार्थक हुन सक्दछ । ज्ञान र चेतना बढाउनका लागि प्रयाप्त अध्ययनको आवश्यकता पर्दछ । मान्छेलाई योग्य र सक्षम बनाउनका लागि पनि अध्ययनको आवश्यकता पर्दछ । मेहेनतले नै हामीलाई सफलताको शिखरमा पुर्‍याउन सकिन्छ । जीवनमा आएका चुनौतीहरूलाई चिरेर अगाडि बढ्न सकियो भने संसारमा गर्न नसकिने चिज संसारमा केही पनि छैन । घरको जग बलियो भयो भने मात्र सिंगो घर बलियो हुन्छ भनेझै सानैबाट राम्रो मेहेनत गरेमात्र भोलिको भविष्य सुन्दर छ । त्यसैले आजैदेखि श्रम गरेर सज्जनको संगत गरेर अगाडि बढ्नुहोस् । नराम्रो बानी बेहोरा विकास नगर्नुस् । दुर्व्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छ,’ उनको भनाइ छ ।

Logo