‘सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ’ -सांसद भण्डारी

‘सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ’ -सांसद भण्डारी

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका काम ठप्प भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले विकास जनताको सहजता र समृद्धिका साथै दिगो तथा अर्थशास्त्रको नियमानुसार हुनुपर्नेमा जोड दिए । “विकास निर्माणका लागि इच्छाशक्ति र विज्ञता चाहिन्छ तर नेपालमा त्यस्तो हुनसकेको छैन”, उनले भने, “यसबाट नेपाली राजनीति सच्चिन जरुरी छ । अब सरकार बनाउनेमा होइन, देश विकासमा ध्यान दिन आवश्यक छ ।”

सांसद भण्डारीले समयमा सडक नबन्दा नागरिकले सस्ती भोगिरहनुपरेको तर्फ ध्यानाकर्षण गराउँदै जनताले भोग्ने हरेक समस्यामा सरोकार भएकाहरू ध्यान जान जरुरी रहेकामा जोड दिए । उनले जनताको कर तथा पैसा उठाएर चल्न हरेक निकाय जवाफदेही हुनुपर्ने बताए । “एनसेलले जनताबाट पैसा उठाएको छ, त्यो पैसा सरकारले लिनुपर्दैन ?” सांसद भण्डारीले प्रश्न गरे, “बत्ती बालेपछि बिल तिर्नुपर्दैन ? यस विषयमा सभामुखले रुलिङ गर्न जरुरी छ ।”

उनले दैनिकजसो विदेशीने नेपालीहरूलाई रोक्नका लागि सरकारले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको धारणा राखे ।

सांसद भण्डारीले भने, “सरकार बन्ने र बनाउने विषयमा होइन, मुलुक बनाउने बाटोमा लाग्नुपर्छ, सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ ।”

Logo