सहिदहरूलाई सम्मान गर्ने विषयमा विभेद छः प्रचण्ड

सहिदहरूलाई सम्मान गर्ने विषयमा विभेद छः प्रचण्ड

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदहरूलाई सम्मान गर्ने विषयमा विभेद रहेको उल्लेख गर्दै यसलाई नीतिगत रूपमै समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकरूपताका साथ सबै सहिदहरूलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘सहिदहरूलाई सम्मान गर्ने सन्दर्भमा विभेदको स्थितिलाई नीतिगत रूपमै समाधान गर्न आवश्यक रहेको छ । आउने केन्द्रीय समितिको बैठकमा सहिदहरूलाई सम्मान गर्नेबारे एकरूपताका साथ सबै सहिदहरूलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पनि पहल गरिनेबारे जानकारी गराउन चाहन्छु । सहिदहरूका बारेमा विभेद गर्नुहुँदैन भनेर जनयुद्धका बेला मारिनुभएकाहरूका बारेमा स्मृति मनाउने वा नमनाउने भनेर भेद गर्नुभन्दा सबै सहिदहरूलाई एकमुस्ट रूपले श्रद्धा व्यक्त गर्नु बढी उचित हुन्छ ।’

‘पार्टीले फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहका रूपमा मनाउने भनेका थियौँ र मनाउँदै आएका पनि छौँ । शान्ति प्रक्रियामा आएपछि यसमा केही बद्लाव जस्तो देखा परेको छ । कतिका नाममा प्रतिष्ठानहरू बनेका छन्, कतिका नाममा छैनन् । यसले राम्रो गरेको जस्तो लागेको छैन । पार्टी पुनः निर्माणको एउटा प्रक्रियामा पनि छौँ । कमरेड शेरमान र कमरेड मोहनचन्द्रलाई हार्दिक श्रदाञ्जलि दिन चाहन्छौँ,’ उनको भनाइ छ ।

Logo