देशलाई ‘नन् करप्ट’ राष्ट्रका रूपमा चिनाउन कर्मचारीलाई प्रधानमन्त्री ओलीको आग्रह

देशलाई ‘नन् करप्ट’ राष्ट्रका रूपमा चिनाउन कर्मचारीलाई प्रधानमन्त्री ओलीको आग्रह

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती सेवाका कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

एक्काइसौँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न कर्मचारी वर्ग दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए । “तपाईँहरू कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो दुुष्कर्ममा सहभागी नहुनुुस् । तपाईँहरूलाई प्रयोग नगरी नेताहरूले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्नुुस् । भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरूले ठूला कुरा गर्दा अरू केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस् ।’’, प्रधानमन्त्री ओलीले भने, “म चुनौती दिएर भन्छु– म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि त्यसो गर्न दिन्नँ । नेपाललाई हर तरहले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’’

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए । उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा परिवर्तनको नायकत्व लिएका पार्टीहरूको समेत सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्त्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल प्रक्रिया थाल्ने बताए ।

प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्न आफूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताए ।

Logo