प्रभु साहको प्रश्न- ‘ओलीजी, के तपाईं साँच्चै नेपालकै प्रधानमन्त्री हो ?’

प्रभु साहको प्रश्न- ‘ओलीजी, के तपाईं साँच्चै नेपालकै प्रधानमन्त्री हो ?’

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालको वर्तमान संविधान दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन् । यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्जवल गर्दैन् । यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घट्नाक्रमले पुष्टि गरिसकेको छ । हामीले पनि हेरिसकेका छौं । कसैले भुलवश नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाईदिन आग्रह गर्न चाहन्छु ।’

यसको साथै, उनले नेपाल सरकार र नेपालको प्रधानमन्त्री पनि नेपालको नभएको बताएका छन् । उनले भने, ‘कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु–अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु–साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो ? नेपाली जनताकै प्रधानमन्त्री हो ? तपाईंको जिउमा नेपालीकै रगत र पसिना छ ? यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ ? त्यो सोध्न चाहन्छु । हेक्टर हेक्टरका जग्गा बेचेर नेपालीहरुले पैसा अमेरिका, अष्ट्रेलिया लैजान मिल्छ कि मिल्दैन् ? नेपालीहरुको भूभाग, जमिन, पूर्वजले आर्जिएको जमिन अमेरिका लैजान मिल्छ ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु तपाईं साँच्चै नेपाल र नेपालीहरुको प्रधानमन्त्री हो भने ती सम्पत्ति कहाँ छन् ? त्यसको जवाफ दिनुहोस । नेपाली जनता जान्न चाहन्छन् ।’

अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी भएको भन्दै यसले विदेशीहरुको पक्षपोषण गर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी छ । संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन, यसले नेपाली जनताको होइन, विदेशीहरुको पक्षपोषण गरेको छ । यहाँ विदेशी ईन्ट्रेष्टमा काम हुन्छ । प्रभु साह पूर्वाग्रहमा बोलिरहेको छैन् । म कुनै आग्रह वा पूवाग्रहमा हिँड्ने मान्छे पनि होइन । संविधान र व्यवस्थाको लागि ठूला ठूला लडाईं लडेको छु ।’

उनले नेपालमा अहिले लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको भन्दै हिजो पञ्चायतकालमा जसरी जनप्रतिनिधिहरु राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट भएको बताए । उनले भने, ‘मैले यो कुरा आज भनेको होइन, आजभन्दा १० वर्षअघि नै भनेको थिएँ । नेपालमा अब लोकतन्त्र रहेन, यो त दलतन्त्र भयो भनेर भनेको थिएँ । लोकतन्त्रमा निर्वाचित संस्थाको सुप्रिमेसी हुन्छ । नेपालमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरु डोमिनेट छन् । हिजो पञ्चायतकालमा जसरी जनप्रतिनिधिहरु राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट छन् । मैले यो संसद्लाई मैले लोकतन्त्रको मन्दिर भनेको छैन, यो त दलहरुको कारिन्दाको समारोह भनेको छु ।’

Logo