‘प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत हुन्छ’ -मुख्यमन्त्री सिंह

‘प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत हुन्छ’ -मुख्यमन्त्री सिंह

केन्द्रबिन्दु
70
Shares

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका छन् ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले संविधान दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधान जारी भएपश्चात्का उपलब्धिलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए ।

उनले विरोध र समर्थनका बीचमा जारी भएको संविधानमा यदि केही त्रुटि छभने त्यसलाई संशोधन गरी अघि बढ्नुपर्ने धारणा राखे । उनले प्रदेशमा आफ्नो प्रशासन नभएसम्म सुशासन कायम गर्न चुनौती रहेको बताउँदै शिक्षामा सुधारका लागि शिक्षक भर्नाको अधिकार प्रदेशलाई दिनुपर्ने बताए ।

देशमा सङ्घीयता प्राप्तिपछि विभिन्न उपलब्धि र विकास भएको उल्लेख गर्दै संविधानको मूल मन्त्रलाई पालना गरी अघि बढेमा देश समृद्ध हुने उनको भनाइ छ । उनले सङ्घीयता आन्दोलनबाट प्राप्त भएकाले कसैले भन्दैमा समाप्त नहुने दाबी गरे ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानमा गरिब र धनी सबैका अधिकार समेटिएको उल्लेख गरे । उनले संविधान विश्वकै उत्कृष्ट भएकाले यसलाई इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, “देशमा धेरै विचारहरू छन् । त्यो सबै विचारको साझा विचार संविधान हो ।”

Logo