काठमाडौँवासीलाई दशैँअघि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्रीको निर्देशन

काठमाडौँवासीलाई दशैँअघि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । काठमाडौँमा दशैँको घटस्थापनाअघि नै पथान्तरण हुने भएको छ । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

दशैँअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोहीअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ ।

मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । उनले भने, ‘मेलम्चीको पानी असोज दोस्रो साताभित्रै काठमाडौँमा ल्याउने तयारीमा छौँ ।’ सोही योजनाअनुसार अहिले काठमाडौँमा बिग्रिएका तथा भत्किएका खानेपानीका पाइप मर्मतसम्भार गर्ने काम भइरहेको छ ।

बर्खायाम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी वितरण गर्ने योजनाअनुसार तयारी भइरहेको छ ।

काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गतेअघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

Logo