राष्ट्रिय एकतालाई बलियो बनाउन लाग्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

राष्ट्रिय एकतालाई बलियो बनाउन लाग्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
56
Shares

मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई बलियो बनाउन लाग्नु पर्ने बताएकी छिन् । मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित ‘जबज मार्गदर्शनमा सुशासन र समृद्धिः अवसर र चुनौती’ विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले राष्ट्रियता र स्वाधीनतालाई बलियो बनाउने गरी फाउण्डेशनलगायत सबै लाग्नुपर्नेमा जोड दिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) एवं जनताको विश्वास र अधिकारका कारण गणतन्त्रमा स्थानीय निकायदेखि राष्ट्रपतिसम्मको पद प्राप्त गर्न सकिएको धारणा राखिन् ।

“विगतमा पार्टीले अगाडि सारेका सिद्धान्त, सङ्घर्ष र जनताको साथले नै देशमा पछिल्ला उपलब्धि हासिल भएका छन् । यसले समानुपातिक समावेशी प्रतिनिधित्वदेखि जनताको विकासको चाहनालाई कार्यान्वयन गर्न सोहीअनुसारका संवैधानिक एवं कानुनी व्यवस्था गरेको छ । त्यसैले अब हामी सबै मिलेर परिवर्तनको संस्थागत विकासका लागि अगाडि बढ्नुपर्छ”, उनले भनिन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मदन भण्डारीको सफल नेतृत्वका कारण मुलुकमा प्रजातान्त्रिक र वामपन्थी शक्तिबीच एकता भएको र त्यसैकारण विसं २०४६ को आन्दोलन सफल भएको बताए । उनले मुलुकमा विकास, समृद्धि एवं जनतालाई रोजगारी प्रदान गर्न फाउण्डनेशनलाई आवश्यक सुझाव र सहयोगका लागि आग्रह गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले कोशी प्रदेशका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राईले सबै जातजातिका भाषा, संस्कृति एवं वेशभूषाको संरक्षण गरी नेपाली पहिचान कायम गर्नुपर्ने धारणा राखे ।

एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, फाउण्डेशनका प्रदेश अध्यक्ष गोपाल गुरागाईं र फाउण्डेशनका उपाध्यक्ष विजय राईले आफ्नो विचार व्यक्त गरेका थिए । गोष्ठीमा प्रदेशका १४ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Logo