९ वर्षपछि उठेको धरहराबाट काठमाडौं नियाल्नेको भीड, भन्छन्- मज्जा आयो[भिडियाेसहित]

९ वर्षपछि उठेको धरहराबाट काठमाडौं नियाल्नेको भीड, भन्छन्- मज्जा आयो[भिडियाेसहित]

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । मुलुकको राष्ट्रिय प्रतीकको रूपमा रहेको धरहरा संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि निःशुल्क खुल्ला गरिएसँगै अहिले सुन्धारास्थित धरहरा क्षेत्रमा छुट्टै रौनकता छ ।

२०७२ सालको विनाशकारी भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माण भएपछि गत बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको हो । दैनिक ६ सय जनालाई मात्रै चढ्ने व्यवस्था मिलाइएको धरहरामा पहिलो दिन भने त्यसले थेग्न सकेन । नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लाग्नु स्वभाविक पनि हो । तर, दोस्रो दिनबाट भने नियममै फर्कियो । हाल अहिले दैनिक ६ सय जनाले धरहरा चढ्न पाउनेछन् । नयाँ धरहरा चढ्नका लागि मानिसहरू उत्साहको छुट्टै रौनकता देखिन्छ ।

विनाशकारी भूकम्पपछि ढलेको धरहरासँगै उस्तै नयाँ धरहरा निर्माण गरिएको हो । ढलेको पुरानो धरहराको भग्नावशेष भने सुरक्षित राखेर अवलोकन गर्न मिल्ने बनाइएको छ । धरहरा चढ्नको लागि अनलाइनबाट टिकट काट्ने व्यवस्था पनि छ भने त्यही उपस्थित भएर परिचय खुल्ने नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र वा राहदानीको फोटोकपी देखाए पनि पुग्छ ।

बाहिरबाट हेर्दा पुरानै स्वरूपको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । धरहरामुनी तीन तले भूमिगत पार्किङ बनेको छ । यहाँ प्रशासनिक भवन र संग्रहालय तथा बगैंचा समेत बन्दैछ । अहिलेसम्म धरहरा निर्माणको ९५ प्रतिशत मात्रै काम सकिएको छ । सर्वसाधारणले करिब १० मिनेट धरहराको टुप्पोमा बसेर अवलोकन गर्न पाउनेछन् ।

हाल दिनहुँ धरहरा चढ्न मानिसहरु आउने क्रम जारी छ । यसै विषयहरुलाई केन्द्रमा राखेर केन्द्रविन्दु टोलीले धरहराको स्थलगत रिपोर्टिङ गरेको छ । सर्वसाधारण सँग नयाँ धरहरा चढ्दाको अनुभवबारे भलाकुसारी गरेको छ ।

भिडियाेसहित हेर्नुहाेस्…

Logo