पशुपति क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहर सफाइ गर्दै कांग्रेस

पशुपति क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहर सफाइ गर्दै कांग्रेस

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । नेपाली कांग्रेसले नवरात्रको अवसर पारेर पशुपति क्षेत्रका विभिन्न स्थानमा बाढीले जम्मा पारेको फोहर सफाइ गरेको छ ।

कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको आयोजनामा भएको कार्यक्रममा पार्टीका उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य एवं विभागका प्रमुख कल्याणकुमार गुरुङलगायत पार्टी नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यही असोज १०, ११ र १२ गतेको वर्षा र त्यसपछि आएको बाढीका कारण पशुपति क्षेत्रमा थुप्रिएको फोहर सफाइका लागि कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख गुरुङले जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा र स्वच्छ राखी विश्वका पर्यटक यहाँ आकर्षित गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनि उनले जानकारी दिए । सम्पदा क्षेत्रलाई सधैँ सफा राख्नुपर्छ भनी पार्टीले वडातहसम्म जागरण अभियान चलाउने पनि जनाइएको छ । त्यस अवसरमा पशुपति क्षेत्रका विश्वरुप, मृगस्थली, गुह्येश्वरी र त्यस नजिकको बागमतीमा सफाइ गरिएको थियो ।

कांग्रेसले बाढी, पहिरोका कारण बागमती नदी किनार र नदी किनारमा रहेका सम्पदा क्षेत्रमा जम्मा भएको फोहरलाई निरन्तर रूपमा सफाइ गर्ने जनाएको छ । यसै क्रममा यही असोज २१ गते बिहान ७ बजे ललितपुरको बागमती किनारस्थित बीपीनगरमा रहेको कांग्रेस केन्द्रीय कार्यालय परिसरमा सफाइ गरिने विभागीय प्रमुख गुरुङले जानकारी दिए ।

सम्पदा सफाइ अभियानमा जुट्न उनले पार्टीका विभिन्न तहमा क्रियाशील नेता, कार्यकर्तालाई अनुरोध गरेका छन् । बाढी, पहिरोबाट बागमती किनारमा जम्मा भएको फोहर सफाइ अभियान सकेपछि बागमतीको मुहानस्थित वाग्द्वारबाट नै नदी सफाइका लागि अभियान चलाउने तयारी पनि विभागले गरेको छ । यो अभियानका लागि बिपी सङ्ग्रहालय सुन्दरीजललाई विशेष जिम्मेवारी दिइएको पनि कांग्रेसले जनाएको छ ।

Logo