कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउँछौँः डा.शेखर कोइराला

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउँछौँः डा.शेखर कोइराला

केन्द्रबिन्दु
56
Shares

काठमाडौंँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन् ।

सोमबार विहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरूसँगको भेटमा बोल्दै डा.कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नेभएकाले सोही अनुसारको तयारी गर्न नेता एवम कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

‘कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला । दशैँ तिहारको रमाइलोमा मात्रै होइन, जनताको सुखदुःखमा पनि पुग्नुस्, दशैंँको शुभकामना,’ डा.कोइरालाले भने ।

कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औं महाधिवेशन पर्खनुपर्ने बताए । ‘१५ औं महाधिवेशनपछि यस्तो धारणा हटेर जान्छ । इमान्दार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित गरिछाड्छौ,’ उनको भनाइ थियो ।

सो अवसरमा दलित संघका केन्द्रीय सदस्य मुक्तबहादुर महतेले नेता कोइरालासँगको भेटमा दलित संघको आगामी गतिविधि, राजनीतिमा दलित समुदायको निर्णायक उपस्थिति लगायतका विषयमा छलफल भएको जानकारी दिए । सो क्रममा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू सरिता प्रसाईँ, प्रकाश स्नेही, सञ्जय गौतम र सांसद सीता मिजार लगायत उपस्थित थिए ।

Logo