दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौंः मन्त्री यादव

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौंः मन्त्री यादव

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले पानीका लागि तड्पिइरहेका काठमाडौँका नागरिकलाई दसैँभन्दा अगाडि नै खानेपानी खुवाउने लक्ष्यअनुसार काम भइरहेको बताए । “काठमाडौँवासी पानीका लागि निकै तड्पिएका छन्, मेलम्चीका नागरिकसँग आग्रह गरेर दसैँ अगाडि काठमाडौँवासीका घरमा पानी पुर्‍याउँछौँ”, मन्त्री यादवले भने, “ विपद्को समयमा सबै नागरिकले एकजुट भएर आफूसँग भएको चिज प्रदान गर्नु नै धर्म हो ।”

काठमाडौँमा मेलम्चीको पानी ल्याउन र मेलम्ची खानेपानीको अवरोध खुलाउनका लागि आफू मेलम्चीबासीका घरमै पुगेर अनुरोधसमेत गर्ने मन्त्री यादवले बताउनुभयो । उनले भने, “मेलम्चीबासीका समस्या के हुन्, कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मसहित सिङ्गो मन्त्रालय तयार छ । मेलम्ची खानेपानीको अवरोध खुलाउन र काठमाडौँका पानी ल्याउन म उहाँहरूको घरैमा पुग्छु ।”

यसैगरी मन्त्री यादवले मेलम्चीका पीडित नागरिकका जायज मागलाई सम्बोधन गराउन आफू हरतरह लागि परेकाले मेलम्चीवासीको मागको सहमति नजिक पुगेको जानकारी दिए । बाढीपहिरोका कारण पछिल्लो समय मुलुकमा असहज परिस्थिति रहेको भन्दै उनले परिस्थिति बुझ्न र काठमाडौँमा पानी पठाउन मेलम्चीवासीसँग आग्रह गरे ।

मेलम्चीका स्थानीयवासीले राखेका जायज मागलाई सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने मन्त्री यादवले जानकारी दिए । सोही क्रममा मन्त्री यादवले केही दिन पहिले आफू दक्षिणकालीका नागरिकका घरैमा पुगेर विन्ती बिसाएपछि ललितपुरमा खानेपानी सहजरूपमा ल्याउन सफल भएको दाबी गरे ।

मेलम्चीका स्थानीयवासीले विपद्को यस घडीमा काठमडौँमा पानी पठाउने विषयमा अवस्य साथ दिने आशा रहेको मन्त्री यादवले जानकारी दिए ।

Logo