आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री

आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् ।

विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे ।

“जो जहाँ छौ, पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु”, उनले भने । प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालिको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गरेका छन् ।

“विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनकासाथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन”, उनले भनेका छन्, “दसैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।”

प्रधानमन्त्री ओलीले पीडितलाई राहत दिने, पुनःनिर्माणको काम यथाशीघ्र सम्पन्न गर्ने, चाडपर्वमा आवातजावतलाई सहज र सुगम बनाउने समेत उत्तरदायित्वमा लागिरहेको घडीमा सबैलाई धैर्य धारण गर्न आग्रह गरेका छन् ।

Logo