मीनबहादुर गुरुङले दिएको जग्गा दानका विषयमा बोल्यो एमाले

मीनबहादुर गुरुङले दिएको जग्गा दानका विषयमा बोल्यो एमाले

केन्द्रबिन्दु
672
Shares

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाका विषयमा विरोध गर्नुको कुनै अर्थ नरहेको प्रष्ट्याएको छ ।

बुधबार प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै गुरुङ पार्टीका सक्रिय कार्यकर्ता रहेको र उनले अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले दिएको जग्गालाई स्वीकार गरेको बताएका हुन् ।

‘स्मरणरहोस्, निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैकिङ्ग सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ ।’ भनिएको छ, ‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले वहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं । यसमा कुनै किसिमको पनि सौदावाजी र लेनादेना छैन ।’

यही असोज २५ गते महानवमीका दिन प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका लागि कीर्तिपुरमा शिलान्यास गरेका छन् । कीर्तिपुर नगरपालिका–२ स्थित मैत्रीनगरमा भाटभटेनी सुपरमार्केटका संस्थापक सञ्चालक गुरूङले दान दिएको १० रोपनी १४ आनामा फैलिएको जग्गामा ओलीसहित गुरूङ दम्पत्तिले शिलान्यास गरेका हुन् । यस विषयले अहिले एमालेसहित राजनीतिक वृत्तमै तहल्का मच्चिएको छ ।

विषय मीनबहादुर गुरुङले जग्गा दान दिनु होइन, उनले यसअघि पनि विभिन्न सहयोग गर्दै आएका थिए अब पनि गर्लान् । उनको सम्पति उनले चाहेको खण्डमा जसलाई पनि दान दिन सक्छन् । तर, मीनबहादुर गुरुङ विवादित पात्र हुन् । ललिता निवास जग्गा प्रकरणमा धरौटीमा रिहा भएका र अर्बौंको कर छलीको आरोपले विवादित व्यवसायी गुरूङले नै पार्टी कार्यालय बनाइ दिने भएपछि एमाले र ओलीको चौतर्फी विरोध भइरहेको हो । तर, एमालेले आज निकालेको विज्ञप्तिमा भने गुरुङका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उनी आफैंले फेस गर्ने हो, संविधान, कानूनभन्दा माथि कोही पनि छैन भन्दै प्रष्ट्याउने कोसिस गरेको छ ।

हेर्नुहोस्, एमालेको विज्ञप्ति-

Logo