पक्राउ पूर्जी जारी भएपछि रवि लामिछानेले भने- ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

पक्राउ पूर्जी जारी भएपछि रवि लामिछानेले भने- ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

केन्द्रबिन्दु
532
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि सरकारको कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाईं प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भएभरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?’

सभापति लामिछाने यत्तिमै रोकिँदैनन् । केपी शर्मा ओली नेतृत्व सरकारमाथि आक्रोश पोखिरहन्छन् ।

उनले भनेका छन्, ‘यति गरेपछि भाटभटिनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।’

आज साँझ कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनलाई आजै पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी छ । अहिले रास्वपाले काठमाडौ हुने आफ्ना कार्यकर्तालाई चाँडोभन्दा चाँडो वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा भेला हुन आह्वान गरेको छ । पक्राउ पूर्जी जारी भएपछि रास्वपाको पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी पनि परिचालन भएको छ । लामिछाने दिउँसोदेखि नै पार्टी कार्यालयमा छन् ।

Logo