ओली सरकार झुटा मुद्दामा फसाउने योजना लाग्यो, सडकमा निस्किनुस् -रवि लामिछाने

ओली सरकार झुटा मुद्दामा फसाउने योजना लाग्यो, सडकमा निस्किनुस् -रवि लामिछाने

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । सहकारी ठगी र संगठित अपराध अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई अपिल गरेका छन् ।

आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ । अन्यायवादी सरकारका विरुद्ध देशैभरबाट सडकमा निस्कनुपर्छ । झुटा मुद्दामा फसाउने योजना छ । यो सरकार नढलेसम्म यस्तै हर्कत गरिरहन्छ ।’

साथै उनले आफू न्याय प्रक्रियालाई सघाउन आएको पनि बताएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा लगिएको थियो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा लामिछानेको संलग्नता देखिएको निष्कर्ष निकाल्दै संसदीय छानबिन विशेष समितिले अनुसन्धान गर्न सिफारिस गरेपछि उनी समातिएका हुन् । उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शनिवार अदालत बन्द भएपछि लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको हो । आजै उनलाई म्याद थप गरेर हिरासतमा राख्ने वा नराख्ने बहस हुनेछ ।

Logo