सशस्त्र प्रहरीका गण तथा गुल्मको नाम परिवर्तन, राप्रपाको आपत्ति

सशस्त्र प्रहरीका गण तथा गुल्मको नाम परिवर्तन, राप्रपाको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका गण तथा गुल्महरुको नाम परिवर्तन गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । सशस्त्र प्रहरी बल अन्तर्गतका निकायमा ऐतिहासिक स्थल तथा देवी देवताहरुको नाममा स्थापना गरिएका गण तथा गुल्महरुको नाम गोप्य ढंगबाट परिवर्तन गरि नयाँ नामाकरण गरिनु दुःखद र दुर्भाग्यपूर्ण रहेको राप्रपाको ठहर छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तत्काल सो निर्णय फिर्ता गरेर पुरानै नाम यथावत राख्न सरकारसँग माग गरेको छ ।

‘सरकारले सशस्त्र प्रहरी गण, गुल्मको नाम परिवर्तन गर्ने कार्य पूर्वाग्रहपूर्ण र संकीर्ण मानसिकताको उपज हो । सशस्त्र प्रहरी बलमा प्रचलित नामको परिवर्तन केवल एउटा सामान्य घटना मात्रै होइन, हिन्दुत्व र हिन्दु मान्यता विरुद्ध भइरहेको षड्यन्त्रको नियमित श्रृङखला हो, यसले कालान्तरमा सामाजिक, सांस्कृतिक सदभावमा असर पार्ने, राष्ट्रिय एकतामा खलल पुर्‍याउने र संवेदनशील सुरक्षा निकायमा मतभेद उत्पन्न हुन सक्ने सम्भावनालाई दृष्टिगत गरि अबिलम्ब निर्णय तत्काल फिर्ता लिन राप्रपा सरकारसंग माग गर्दछ’ बैठकपछि जारी राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै गैरकानुनी रुपमा विदेशी बैंकमा राखेको रकम राज्यले कब्जा गर्नुपर्ने राप्रपाको ठहर छ । केही नेपाली नागरिकले गैरकानुनी रुपमा विदेशी बैंकहरुमा अवैध धन लुकाएको तथ्यसहित सञ्चारमाध्यममा सार्वजनिक भएको विषयलाई राप्रपाले गम्भीरतापूर्वक लिएको बताएको छ ।

त्यस्तो धनबारे नेपाल सरकार र सम्बद्ध निकायले तत्काल छानबिन गर्न, सत्यतथ्य सार्वजनिक गर्न र शंकास्पद व्यक्ति वा संस्थाको बैंक खाता तत्काल रोक्का गर्न र अवैध सम्पत्ति जफत गरि कानुन विपरीतका कार्यमा संलग्न अपराधीलाई कडा कारबाही गर्न माग गरेको छ ।

त्यस्तै बैठकले पार्टीले हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियान अन्तर्गत माघ ७ र ८ गते तय गरेको देशव्यापी घरदैलो कार्यक्रम तथा माघ १३, १४ र १५ गते सबै नगरपालिका र गाउँपालिकामा हुने हिन्दुराष्ट्र पुर्नस्थापना जनजागरण सभामा सक्रिय र अनिवार्य रुपमा सहभागी हुन पार्टीका सबै तहका सदस्यलाई निर्देशन दिएकोछ ।

Logo