बुटवल बाहेक अन्य ठाउँलाई प्रदेश राजधानी नतोक्न कांग्रेसको चेतावनी

बुटवल बाहेक अन्य ठाउँलाई प्रदेश राजधानी नतोक्न कांग्रेसको चेतावनी

केन्द्रबिन्दु
0
Shares

रुपन्देही । नेपाली काङ्ग्रेसका नेताहरुले प्रदेश नं. ५ को स्थायी राजधानी तोक्ने विषयमा मतान्तर नगर्न आग्रह गरेका छन् । उनीहरुले शान्तिका अग्रदूतको जन्मस्थान लुम्बिनी भएकाले यो ठाउँलाई सबै जिल्लासँग जोडेर समृद्ध प्रदेश निर्माण गर्न बुटवल राजधानी उपयुक्त भएको बताएका छन् ।

संविधान कार्यान्वयन, सुशासन, शान्ति सुरक्षा एवं प्रदेश नं. ५ को स्थायी राजधानी र नामकरणको माग गर्दे कांग्रेस रुपन्देहीले आज बुटवलमा आयोजना गरेको खबरदारी सभामा नेताहरुले प्रदेश राजधानी बुटवल र नामकरण लुम्बिनी राख्नुको विकल्प नभएको बताए । कांग्रेसका केन्द्रीय सदस्य तथा दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश नं. ५ को विकास समृद्धिका लागि स्थायी राजधानी बुटवल नै उपयुक्त हुने बताए ।

बुद्धको जन्मस्थलबाट नेपाल विश्वमा चिनिएको बताउँदै उनले यही स्थानमा राजधानी बनाउन नसकिए प्रदेशका लागि दुर्भाग्य हुने बताए । कांग्रेसले हचुवाको भरमा बुटवललाई स्थायी राजधानी बनाउन माग नगरेको उनको भनाई छ । उनले भने, “प्राकृतिक, भौगोलीक सबै हिसाबले बुटवल ठिक छ, यहाँबाट सार्ने षड्यन्त्र नहोस् ।”

केन्द्रीय सदस्य चन्द्र भण्डारीले पहाड र तराईलाई जोड्ने काम गरेकाले बुटवल राजधानी सही हुने जिकिर गरे । अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको एक वर्ष हुँदा पनि स्थायी राजधानी नतोकिनु गैर जिम्मेवारी भएको तर्क गरे ।

अस्थायी राजधानी घोषणाको वर्षगाँठको अवसर पारेर आयोजना गरिएको खबरदारीसभा अघि बुटवलको राजमार्ग चौराहबाट वृहत् र्‍याली निकालिएको थियो । यसअघि माघ ३ गतेकै दिन कांग्रेस सभापति शेरबहादर देउवा प्रधानमन्त्री भएका बेला बुटवललाई प्रदेश नं. ५ को अस्थायी राजधानी घोषणा गरीएको थियो । रासस

Logo