झापा पुगेर योगेशले भने, ‘गोविन्द केसीलाई कसैले उचालिरहेको छ’

झापा पुगेर योगेशले भने, ‘गोविन्द केसीलाई कसैले उचालिरहेको छ’

केन्द्रबिन्दु
0
Shares

झापा । सत्तारुढ दल नेकपा नेता योगेश भट्टराईले डा. गोविन्द केसीलाई कसैले उचालिरहेको आरोप लगाएका छन् । डा. गोविन्द केसी चिकित्सा शिक्षासहितका विभिन्न क्षेत्रसँग सम्बन्धित माग लिएर अहिले इलाममा १६ औं अनशनमा छन् । उनको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउँदैं भट्टराईले अरुले उचालेको भरमा नलाग्न केसीलाई आह्वान गरे ।

नेकपा नेता भट्टराईले बिहीबार बिहान झापाको विर्तामोडमा पत्रकारसँग कुरा गर्दै सरकार डा. केसीको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।

नेता भट्टराईले संसदमा अहिलेसम्म सबैभन्दा बढी कसैको कुरा सुनिएको भए त्यो डा. केसीकै रहेको भन्दै उनलाई अराजकता चाहने समूह वा झुण्डले उचालेको दाबी गरे ।

डा. केसीले इलाम पुगेर अनशन गरेकोमा आफूहरुको क्षेत्र पवित्र भएको भन्नेहरुप्रति लक्षित गर्दै नेता भट्टराईले भने, ‘कतिपय मान्छेलाई डा. केसी पाइला राख्ने बित्तिकै भूमि पवित्र हुन्छ भन्ने भ्रम छ, तर उहाँको पदचाप त्यति पवित्र छैन ।’

चिकित्सा शिक्षा विधेयकमा उल्लेख भएको चिकित्सा विश्वविद्यालय डा. केसीकै माग गरेको तर अहिले आएर उनले आफूले भन्दै नभनेको कुरा विधेयकमा उल्लेख गरेको बताउन थालेको उनको आरोप छ ।

उनले शिक्षण अस्पतालका सम्बन्धमा भने, ‘डा. केसीको मोडलमा जाने हो भने नेपालमा अझ १०–१५ वर्ष नयाँ मेडिकल कजेल खुल्दैनन् । कुनै एक व्यवासायीले सबै पूर्वाधार पूरा गरेर मेडिकल कलेज खोल्छु भन्यो भने हामीले किन रोक्ने ?’

उनले पूर्वी नेपालका धेरै नेपाली भारतको सिलिगुडीसहितका क्षेत्रमा गएर उपचार गराउन बाध्य रहेकाले त्यहाँका डाक्टर नेपालीको पैसाले धनी भएको बताए । यस्तोमा नेपालमै डाक्टरको उत्पादन र अस्पताल खुल्ने वातावरणको बाधक बन्नुको औचित्य त्यति नदेखिएको उनको भनाइृ छ ।

Logo