विवेकशील साझा पार्टीको महत्वपूर्ण ९ निर्णय

विवेकशील साझा पार्टीको महत्वपूर्ण ९ निर्णय

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीको दुइ दिने केन्द्रिय समिति बैठक सम्पन्न भएको छ।  बैठकले बिभिन्न ९ वटा निर्णयहरु गरिएको जनाएको छ।

पार्टीले आगामी बर्षको फाल्गुन १५ गतेदेखि १९ सम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने भएको छ।  त्यसै गरि बिभिन्न पदका लागि संयोजकहरु तोकिएको छ भने मधेश मिसनदेखि सार्वजनिक कार्यक्रमको आयोजना गरिने सम्मका निर्णयहरु भएका छन्।

यसैबीच पार्टी कार्यालय बखुन्डोलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.सूर्यराज आचार्यले विवेकशील नेपाली दलसँग गरिएको पार्टी एकता नै भावनात्मक हुन नसक्दा फुटको नियति भोग्नु परेको बताएका छन् । उनले यो फुटले वैकल्पिक राजनीतिमा कुनै अवरोध नआउने भन्दै  वैकल्पिक राजनीतिक अभ्यास गर्ने जो कसैसँग एकताका लागि ढोका खुल्लै रहेको बताएका छन्।

पढ्नुहोस् बिज्ञप्ति 

“आगामी २०७६ साल फागुन १५ गतेदेखि १९ सम्म काठमाडौंमा पार्टीको महाधिवेशन”

विवेकशील साझा पार्टीको पूर्व निर्धारित केन्द्रिय समितिको बैठक यही पौष ३० र माघ १ गते पार्टीको मुख्यालय बखुण्डोलमा बस्यो।

हालै पार्टीमा देखा परेका समस्या तथा त्यसको राजनीतिक र सांगठनिक समाधानको लागि केन्द्रीय समितिको बैठकले कैयौं महत्वपूर्ण तथा दुरगामी निर्णयहरु गरेको छ। पार्टीभित्र देखिएका असामान्य गतिविधिले पुर्याएको निरन्तरको गत्यावरोध र अराजकतालाई चिरेर पार्टीलाई आजको अवस्थामा ल्याइ पुर्याउने नेपाल र नेपाल बाहिर रहनुभएका सम्पूर्ण शुभेच्छुक, सदस्य तथा नेतृत्वदायी अभियानकर्ताहरुप्रति पार्टी हार्दिक आभार प्रकट गर्दछ।

हालै पार्टीको केन्द्रिय समितिबाट बाहिरिएका केही सदस्यहरुले उत्पन्न गरेको अन्योल र सिर्जना गरेको भ्रमबारे केन्द्रिय समितिले संक्षिप्त र प्रारम्भिक समीक्षा गरेको छ। पार्टीका तात्कालिक एकजना संयोजकले नियोजितरुपमा पार्टी फुटाउन खोजेको र सोही कारण केन्द्रिय समितिको बैठकमा उपस्थित हुनुभन्दा पहिले नै नयाँ पार्टी दर्ता प्रकृया शुरू गरेको देखिन्छ। यो केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल गर्ने एजेण्डा पूर्वनिर्धारित थियो।

केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ। साथै हाम्रा सबै प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा कुनै प्रकारको उल्लेख्य असर नपरको मूल्यांकन पनि गरियो। तर पार्टीका मतदाता, शुभचिन्तक र शुभेच्छुकहरुमा भने केही अन्यौल उत्पन्न भएकोले त्यसलाई यथासिघ्र चिर्नको लागि पार्टीका विभिन्न तहमा विविध कार्यक्रमहरु सम्पन्न गर्ने निर्णय गरिएको छ।

१. आगामी २०७६ साल फागुन १५ गतेदेखि १९ सम्म काठमाडौंमा विवेकशील साझा पार्टीले भव्यताका साथ पहिलो महाधिवेशन गर्नेछ।

२. विदेशमा रहेका पार्टीका सद्भाव समूहका सदस्यहरूको पार्टी संगठनमा भूमिका र मताधिकारलाई सुनिश्चित गर्न स्पष्ट व्यवस्था गरिनेछ। साथै,विदेशमा रहेका सबै नेपालीहरूलाई राष्ट्रिय निर्वाचनमा मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सञ्चालन गरिने छ।

३. पार्टीले प्रदेश नं १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ। र, अनिल भेटवाल पार्टीको विधान अनुसार पदेन केन्द्रिय सदस्य समेत हुनुभएको छ।

४. पार्टीले केही महिनाअघि देशका सातै प्रदेशबाट प्रदेशको सिफारिशमा एक  एकजना महिला केन्द्रीय समितिमा चयन गर्न लिएको निर्णय अनुसार सुदूर पश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ।

५. पार्टीमा युवा तथा महिला सहभागितालाई प्रबर्धन गर्न र तिव्रता दिन ’विवेकशील साझा युवा संगठन’ र ’विवेकशील साझा महिला संगठन’ गठन गर्ने र तिनको संयोजकमा क्रमश: पार्टीको केन्द्रीय सदस्य अब्दुस मियाँ तथा पार्टीकी केन्द्रीय सदस्य सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरेको छ। पार्टीले पेशागत र व्यावसायीक भातृ संगठन भने निर्माण नगर्ने प्रतिबद्धतामा पुन जोड दिएको छ।

६. पार्टीमा देखापरेका पछिल्ला चुनौतिहरु र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौंमा देशभरीका पार्टी प्रतिनिधि सदस्यहरु सहित “विवेकशील साझा राष्ट्रिय सन्देश भेला”को आयोजना गर्ने निर्णय गरेको छ। साथै माघ १३ गते राष्ट्रिय सभागृहमा ‘विवेकशील साझा: अबको बाटो’ शीर्षकमा सार्वजनिक कार्यक्रमको आयोजना गरिने छ।

७. पार्टीका केन्द्रिय विभागहरुको पुर्नगठन र जिम्मेवारीको वाँडफाँड गरिएको छ, जसअनुसार कोष संकलन (डा उमेद पुन), संगठन (मुमाराम खनाल),अभियान (किशोर थापा), नीति तथा कार्यक्रम (डा सूर्यराज आचार्य), प्रशिक्षण (केशव दाहाल), सञ्चार (किरणकृष्ण श्रेष्ठ), सामाजिक न्याय तथा समावेशिता (प्रकाशचन्द्र परियार), कानून (निरूपमा यादव), उद्यमशीलता (रमेश महर्जन), तथ्यांक (राम साह), केन्द्रीय कार्यालय (मानवी पौडेल) तथा विदेश विभाग (रवीन्द्र मिश्र) ले सम्हाल्ने छन्।

८. पार्टीले केही महिनाअघि शुरू गरेर बीचमा अवरूद्ध भएको संगठन विस्तार तथा प्रशिक्षण अभियानलाई पुन जिल्ला स्तरबाट क्रमशः स्थानीय तहसम्म पुर्याउने छ।

९. पार्टीले मधेशको भावना, चाहाना र देशको रूपान्तरणमा उनीहरूको सपना बुझ्नका लागि माघको तेश्रो हप्तादेखि विशेष ‘मधेस मिसन’ सञ्चालन गर्नेछ।

 

प्रवक्ता

डा सूर्यराज आचार्य
विवेकशील साझा पार्टी

Logo