देउवा भन्छन्, ‘वाइडबडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डको संलग्नता छ’

देउवा भन्छन्, ‘वाइडबडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डको संलग्नता छ’

केन्द्रबिन्दु
0
Shares

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् । वाइडबडी खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पार्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले विमान घोटला प्रकरणमा सत्तारुढ नेकपा अध्यक्षद्धयको संलग्नता रहेको बताए ।

नेपाल प्रेस यूनियन कैलालीले सोमबार बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले वाइडबडी विमान घोटाला प्रकरणमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संलग्नता रहेको दाबी गरेका हुन् ।

उनले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारले जहाज खरिदका लागि पहल गरेको र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय गरेको उनको दावी छ ।

‘‘वाइडबडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डजीको प्रत्यक्ष संलग्नता छ । ओली प्रधानमन्त्री भएको बेला सरकारले जहाज खरिदका लागि उपसमिति गठन गरेको हो । प्रचण्ड प्रधानमन्त्री भएका बेला जमानत बसेर बोलपत्र खरिद गर्ने सरकारले निर्णय गरेको थियो,’’ देउवाले भने ।

उनले वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्दै आफ्नो नाम जोडेर अन्याय गरिएको गुनासो गरे । ‘‘०७४ सालमा म प्रधानमन्त्री हुँदा पर्यटन मन्त्रालयसहित १८ मन्त्रालय खाली थिए । त्यो बेला जहाज खरिदका लागि भुक्तानी दिइएको भन्दै मेरो नाम जोडिएको छ । त्यसबारे मलाई केही थाहा छैन,’’ देउवाले पत्रकार सम्मेलनमा भने ।

तत्कालीन सरकारले मन्त्रीस्तरीय निर्णय गरेको देखिए आफूलाई मुछ्नु स्वाभाविक भएको भन्दै उनले वाइडबडी विमान घोटाला प्रकरणमा आफू निर्दोष रहेको प्रष्टिकरण दिए । ‘‘खाली रहेका १८ मन्त्रालयमा कहाँ के हुन्छ मलाई के थाहा हुनु र ? कसरी थाहा पाउनु ? ‘यदि मैले मन्त्रीस्तरीय निर्णय गरेको भए म दोषी हुन्थे, मलाई केही थाहै छैन । कसरी मेरो सलग्नता हुन्छ ?’ देउवाले प्रश्न गरे ।

Logo