सांसदहरु आ-आफ्ना दुःख व्यक्त गर्दै संसदमा

सांसदहरु आ-आफ्ना दुःख व्यक्त गर्दै संसदमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सांसदहरुले समसामयिक र क्षेत्रगत समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । आईतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले डाक्टर गोविन्द केसीको माग सम्बोधन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद सिता देवी यादव र ज्ञानेन्द्र बहादुर कार्कीले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै डाक्टर केसीसँग भएको सम्झौता कार्यान्वयन गरि अबिलम्ब माग पुरा गर्न सरकारसँग माग गरे । सांसद कार्कीले डाक्टर केसीको माग सम्बोधन नभए गम्भीर दुर्घटना निम्तने भन्दै अबिलम्ब माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद विना कुमारी श्रेष्ठ र शशि श्रेष्ठले संसद सचिवायले निजी बैंक नभई सरकारी बैंक राष्ट्रिय बाणिज्य बैकमार्फत संसद सचिवालयको खाता संचालन गर्न माग गरे । सांसद श्रेष्ठले चमेनागृहमा राखिएको भिन्ना भिन्दै बोर्ड हटाउन पनि सचिवालयको ध्यानाकर्षण गराए ।

सांसद लालकाजी गुरुङले समानुपातिक सांसदहरुलाई सरकारले विभेद गरेको भन्दै बजेट विनियोजनमा समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद विन्दा पाण्डेले महिनाबारी हुदाँ छाउगोठमा राखेमा दण्ड सँजाय हुने कानुनी व्यवस्था रहेकोमा त्यसबारे भएको कारवाही र जनचेतनाका लागि भएका प्रयास बारे संसदलाई जानकारी गराउन माग गरिन् ।

सांसद शान्ति माया तामाङले दोलखाको प्रमुख पर्यटकीय गन्तव्य कालिन्चोकमा सार्वजनिक जग्गाको अतिक्रमण बढेको र सो क्रममा उत्पन्न विवाद सुल्झाउने पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद हरिराज अधिकारीले सांसदहरुका लागि आवास बनाउने भनिएको स्थानमा मन्त्रीनिवास बनाउन लागेको भन्दै सो निर्णय पुर्नविचार गर्न माग गरे ।

Logo