दीपक मनाङेलाई सपथ खुवाउनेबारे आज संसदमा छलफल

दीपक मनाङेलाई सपथ खुवाउनेबारे आज संसदमा छलफल

केन्द्रबिन्दु
0
Shares

पोखरा । गण्डकीको प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरूङ अर्थात दीपक मनाङे‘ लाई सपथ खुवाउनेबारे आज संसदमा छलफल हुने भएको छ ।

मनाङेको सपथबारे छलफल गर्न आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

मनाङेको सथपबारे प्रदेशसभा सदस्यहरुको फरक फरक मत रहेको छ । आजको बैठकले जे निणर्य गर्छ त्यही अनुरुप अगाडि बढ्ने सभामुखको योजना छ । उनले मनाङेलाई आजै सपथ खुवाउने तयारी नभएको बताए।

सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि एक साताअघि मनाङेले आफूलाई सपथ खुवाउन माग गर्दै सभामुख कार्यालयमा निवेदन दिएका थिए ।

गत बिहीबार मनाङेले निवेदन दिएपछि शुक्रबार यसबारे छलफल गर्न संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएको भन्दै बैठकले औपचारिकता पाएको थिएन।

पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए।

गत वर्ष मंसिरमा भएको चुनावमा मनाङ प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे निर्वाचित भएका थिए । मनाङेलाई सपथ खुवाउनु पर्नेमा नेकपाका सांसदहरु छन् भने प्रतिपक्षी कांग्रेसले सपथ खुवाउन नमिल्ने बताउँदै आएका छन्।

यसअघि प्रतिनिधि सभामा कैलाली-१ बाट निर्वाचित भएका तर टीकापुर घटनामा संलग्न भएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई बिहीबार सपथ खुवाइएको थियो।

Logo