राजपालाई मनाउन रेशम चौधरीको शपथ

राजपालाई मनाउन रेशम चौधरीको शपथ

केन्द्रबिन्दु
0
Shares

बिहिबार बिहानै अनलाइन मिडियाहरुमा आएको एउटा समाचारले सोसल मिडियामा तहल्का पिट्यो।  जेलमा रहेका रेशम चौधरीलाई पद तथा गोपनियताको शपथ गराउने सरकारी तयारीका बारेमा सार्वजनिक समाचारहरुमाथि प्रश्न चिन्ह खडा भए ।  तर त्यो प्रश्न चिन्ह धेरै बेर टिकेनन।  खबर शतप्रतिशत साँचो देखियो ।

जेलमा रहेका व्यक्तिलाई शपथ गराउने खबर आउनासाथ सोसल मिडियामा यतिबेला  सरकारी  कार्यशैलीको चर्को बिरोध भैरहेको छ।  सबैलाई सोचमग्न बनाएको यसका पछाडिको रहस्य भने अर्कै छ।  चौधरीलाई शपथ ग्रहण गराउन मुख्य भूमिका निभाएका छन् पुष्पकमल दाहाल (प्रचण्ड) ले।

स्मरण होस् राष्ट्रिय जनता पार्टी (राजपा) ले लामो समयदेखि चौधरीलाई शपथ खुवाउन दबाब दिंदै आएका छ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजक परिवर्तन भए लगतै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको थियो।  लगतै  पुस १० गते  प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाका शिर्ष नेताहरुलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।  छलफलका क्रममा प्रधानमन्त्री ओलीले राजपासंग एक साताको समय मागेका थिए।  जुन समयावधी गत पुस १७ गते सकिएको छ।

त्यसो त केही दिन अघि संसद बैठकमै राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले चौधरीलाई शपथ ग्रहण गराउन माग गरेका थिए ।  संयोजक महतोले बैठकमा नेकपा अध्यक्ष प्रचण्डलाई समेत लक्षित गर्दै मन्तब्य दिएका थिए।  महतोको मन्तब्यबाट सोचमग्न प्रचण्डले त्यसपछि यस बिषयमा दोहोरो कुराकानी गर्दै आएका थिए।

समयावधी सकिएकै दिन राजपाका संयोजक राजेन्द्र महतो र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो।  त्यहीबेला प्रचण्डले महतोलाई चौधरीको शपथ र संविधान संशोधनका बिषयमा आश्वासन दिएका थिए।

अहिले तत्काललाई रेशम चौधरीलाई शपथ खुवाउने र संविधान संशोधनका लागि कार्यदल बनाउने आश्वासनपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ।  आइतबार संसदमा प्रधानमन्त्री ओलीले गर्न लागेको सम्बोधनमा पनि संविधान संशोधनका विषय समेटिने बुझिएको छ।

शपथपछि पनि जेलमै 

आज साढे ११ बजे हुने भनिएको चौधरीको शपथ ३ बजेका लागि सारिएको छ।  शपथका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगिनेछ।

शपथ कार्यक्रम सकिए लगतै चौधरीलाई पुनः कारागार नै लगिनेछ। उनलाई निर्वाचित भएको प्रमाणपत्र र सांसद्को लोगो प्रदान गरे पनि उनले सांसद्को पदीय पहिचान हुने कुनै पनि कामकाज गर्न पाउने छैनन्। उनको सेवा सुविधा रोक्का हुनुका साथै बैठकमा भाग लिन पाउने छैनन्।

चौधरीले गत वर्ष मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट अत्यधिक मत ल्याएर विजयी भएका थिए।   आफूले निर्वाचित भएको प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। ०७४ पुसमा दर्ता रिटमा सर्वोच्चले पनि कानुनी हिसाबले फरार रहेको भन्दै वारेसमार्फत रिट दर्ता अस्वीकार गरेको थियो।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एउटा नरसंहार घटना भयो जसलाई टीकापुर काण्डका रुपमा चिनिन्छ।  थरुहट आन्दोलनका  टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो।

चौधरीलाई उक्त घटनाका मुख्य अभियुक्त मानिएको छ । घटनापछि फरार रहेका चौधरीले अदालतमा आत्मसमर्पण गरेका थिए। आत्मसमर्पण गरेकै दिन अदालतले बयान गराई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

को हुन् चौधरी ?

चौधरीको पृष्ठभूमि पत्रकारिता हो।  २०६२/६३ को जनआन्दोलन भन्दा पहिलेसम्म उनले बिभिन्न संचारमाध्यममा लोकगीतका कार्यक्रम सञ्चालन गर्थे।  उनलाई  राजदरबारसँग निकट भएको व्यक्तिका रुपमा पनि लिइन्छ।  तर राजतन्त्र ढल्नेबित्तिकै उनी गणतन्त्रवादी बने।

उनले टीकापुरमा फूलवारी एफएम र फूलवारी रिसोर्ट सञ्चालन गरेका थिए । टीकापुरमा उनले  फूलवारी महोत्सव लगायत पनि संचालन गर्थे।  त्यसपछि उनी बिस्तारै राजनीतिमा होमिए र थारु नेताका रुपमा चिनिन थाले।  त्यही बेलामा उनी  राजेन्द्र महतोको तत्कालिन सद्भावना पार्टीमा प्रवेश गरे।

Logo