रेशम चौधरी शपथ ग्रहण कार्यक्रम ३ बजेलाई सर्‍यो

रेशम चौधरी शपथ ग्रहण कार्यक्रम ३ बजेलाई सर्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । टीकापुर घटनाको मुख्य अभियुक्तको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीको शपथ कार्यक्रम सरेको छ ।

बिहीबार बिहान साढे ११ बजे प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा चौधरीलाई सांसदको शपथ ग्रहण गराउने कार्यक्रम रहेको भएपनि चौधरी आउन ढिला हुने र संसद मध्यान्ह बस्ने भएपछि ३ बजेलाई शपथको कार्यक्रम सारिएको हो ।

कारागारमा सरकारी निकायले शपथबारे कुनै जानकारी नगराउँदा उनी भित्रबाट निस्कन पाएनन् र तोकिएको समयमा शपथ लिन जान पाएनन् ।

चौधरी डिल्लीबजार कारागारमा छन्। कारागारमा सरकारी पक्षबाट कुनै जानकारी नभएपछि चौधरीलाई कारागार व्यवस्थापनले बाहिर निस्कन दिएन ।

श्रीमान कारागारबाट निस्कने भएपछि उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी माला लिएर कारागारको गेटमा बसेकी थिइन् । श्रीमान कारागारबाट बाहिर ननिस्किएपनि उनी अहिले डिल्लीबजारमै बसिरहेकी छन् ।

उनी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद हुन्। राजपाका नेताहरुले सांसद चौधरीलाई शपथ दिलाउन र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसदमा र सचिवालयसँग बारम्बार माग गर्दै आएका थिए।

शपथ ग्रहणपछि उनलाई पुनः कारागार नै लगिनेछ। उनले निर्वाचित भएको प्रमाणपत्र र सांसद्को लोगो भने शपथसँगै बुझ्नेछन्। संसद् नियमावली अनुसार उनले सांसद्को पदीय पहिचान हुने कुनै पनि कामकाज गर्न पाउने छैनन्।

सेवा सुविधा रोक्का हुनेछ। भने, सांसद्को हिसाबमा बैठकमा भाग लिन पाउने छैनन्। प्रतिनिधसभा नियमावलीको २४४ (३) अनुसार चौधरी संसद् बैठकमा सहभागी हुन पाउने छैनन्।

Logo