के नेकपाले रबिन्द्र अधिकारीलाई कालोमोसो दल्न सक्ला ?

के नेकपाले रबिन्द्र अधिकारीलाई कालोमोसो दल्न सक्ला ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणले यतिबेला चर्चा पाएको छ । ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटला गरिएको भन्दैं सार्वजनिक लेखा समितिद्धारा गठित उपसमितिले ३ मन्त्री ३ सचिवलाई कारवाही सिफारिस गरेको छ । यसको प्रमुख पात्र बनेका छन्, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी ।

उपसमितिको प्रतिवेदनमा उनलाई कडा कारवाही गर्न सिफारिस गरिएको छ । उनीमाथि संसदीय समितिमै झुट बोलेको र जिम्मेवारीबाट टाढा बसेकाले वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा उनको समेत मिलेमतो हुनसक्ने ठहर छ ।

वाइडबडीबारे अध्ययन गर्न लेखा समितिका सदस्य राजेन्द्र केसीको नेतृत्वमा बनेको उपसिमितिको प्रतिवेदनले जहाज खरिद गर्दा ८४ लाख अमेरिकी डलर, लागत अनुमान र खरिद मूल्यमा २३.६ मिलियन अमेरिकी डलर, कबोल गरेको मूल्यमा ६.८ मिलियन अमेरीकी डलर, प्रि–इन्सपेक्सनमा १ करोड घाटा भएको ठहर गरेको छ ।

उपसमितिले वहालवाला मन्त्री अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही, जितेन्द्र नारायणदेव, बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा, हाल पर्यटन सचिव कृष्ण देवकोटा र हाल गृहसचिव रहेका तत्कालीन पर्यटन सचिव प्रेम राई र पूर्व सचिव शङ्कर अधिकारीलाई दोषी ठहर गरेको छ । त्यस्तै वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारवाही गर्न पनि उपसमितिले सिफारिस गरेको छ ।

मन्त्री अधिकारीले के गर्लान ?
समितिले नै यस्तो आरोप लगाएपछि अब मन्त्री अधिकारीमाथी नैतिक संकट परेको छ । विगतमा युवाहरुमाझ लोकप्रिय अधिकारी मन्त्री भएपछि प्रभावकारी काम गर्न नसकेको आरोप खेप्दै आएका छन् । सार्वजनिक कार्यक्रममै वाइडबडी खरिद प्रकरणमा आफ्नो संलग्नता नभएको र यदि त्यसो भेटिए आफू राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गरेका थिए ।

आफ्नै अभिव्यक्ति र उपसमितिको प्रतिवेदनलाई केलाउँदा अधिकारी नैतिक सङ्कटमा देखिए । उनले गत मंसिर १० गते पोखरामा आयोजित एक कार्यक्रममा वाइडबडी विमान खरिद प्रक्रियामा दोषी पाइए जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताएका थिए । त्यस्तै पटक–पटक आफ्नो संलग्नता रहेको पाईए राजनीतिबाटै सन्यास लिने बताउँदैं आएका थिए । अरु दोषी पाईए कारवाही गर्ने बताएका मन्त्री अधिकारी नै दोषी भेटिए ।

प्रधानमन्त्रीको कस्तो एक्सन ?
प्रधानमन्त्री केपी शर्मा ओलीले आफु भ्रष्टहरुलाई कारवाही गर्ने दावी गर्दै आएका छन् । भ्रष्टाचार भएको आफै देखेमा वा कसैले प्रमाण ल्याएमा तत्कालै कारवाही गर्ने प्रतिवद्धता जनाउँदैं आएका छन् ।

प्रधानमन्त्री ओली जुनसुकै सार्वजनिक कार्यक्रममा जाँदा आफु पनि भ्रष्टाचार नगर्ने, अरुले गरेपनि नछाड्ने भन्दैं आएका छन् । उनले नातागोता वा आफन्त भन्दैमा भ्रष्टाचारीमाथि कारबाही नरोकिने पनि बताउँदैं आएका छन् । अब भने आफ्नै मन्त्रीपरिषद्का सदस्यले यत्रो भ्रष्टाचार गरेको पाईदा के गर्लान ? त्यो भने हेर्न बाँकी छ ।

नेकपाले के गर्ला ?
सत्तारुढ दल नेकपाका एक वरिष्ठ नेताले भ्रष्टाचारीहरुलाई कारवाही भन्दा पनि कालोमोसो दल्नुपर्ने बताएका थिए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टहरुलाई कानूनी कारवाहीले मात्र नपुग्ने भन्दै सामाजिक कारवाही अन्तर्गत कालोमोसो र जुत्ताको माला लगाउनुपर्ने बताएका थिए । केही समयअघि एक सार्वजनिक कार्यक्रममै प्रवक्ता श्रेष्ठले भनेका थिए,– भ्रष्टाचारीलाई जहाँ भेटे पनि कालोमोसो दल्नूस् ।’

यसअघि पनि…
आफुले एक पैसा पनि घोटला गरेको भेटिए राजनीतिबाटै सन्यास लिने घोषणा गरेका मन्त्री अधिकारी यतिबेला नैतिक संकटमा छन् । मिनि संसद मानिएको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नै उनी घोटालामा संलग्न देखिएको ठहर गरेपछि नैतिक संकटमा मात्र होईन कानूनी कठघरामा पनि उभिनुपर्ने भएको छ ।

तर उनी यसअघि पनि यस्ता नैतिक संकट पर्ने खालमा सार्वजनिक अभिव्यक्ति दिँदैं आएका नेता हुन् । पहिलो संविधासभाले संविधान दिन नसके अर्को पटकको संविधान सभा चुनाव नलड्ने घोषणा गरेका थिए । तर उनले कुनै चुनाव छोडेनन् ।

Logo