रबिन्द्र अधिकारी भन्छन्, ‘वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु’

रबिन्द्र अधिकारी भन्छन्, ‘वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले वाइडबडी बिमान खरिदमा आफुले भ्रष्टाचार गरेको प्रमाणित भए राजनीतिबाट नै सन्यास लिन बताएका छन् ।

वाइडबडी विमान खरिदमा तीन अर्बभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै संसदीय छानविन समितिले मन्त्री अधिकारीसहिथ ३ मन्त्री र तीन सचिवलाई कारवाही सिफारिस गरेको छ ।

कांग्रेस नेता तथा सांसद राजन केसीको नेतृत्वको छानविन समितिले जहाज खरिद प्रक्रियामा तीन मन्त्री र तीन सचिवको संलग्नता रहेको भन्दै कारवाहीको सिफारिस गरेको हो ।

मंगलवार साँझ बसेको छानविन समितिको बैठकले बहालवाला मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्धय जीवनबहादुर शाही र जितेन्द्र देवमाथी छानविनका लागि अख्तियारमा लेखि पठाउने गरी प्रतिवेदनलाई अन्तिम रुप दिइएको छ । तर खरिद प्रक्रियाका बेलाका बहालमन्त्री दिलनाथ गिरीलाईलाई भने उन्मुक्ति दिने गरी छानविन समितिले प्रतिवेदन तयार गरेको छ ।

छानविन समितिले कारवाहीको सिफारिस गरेलगतै मन्त्री अधिकारीले वाइडबडी खरिद प्रकरणमा आफ्नो गल्ति भेटिए जस्तो सुकै कारवाही भोग्न तयार भएको बताएका हुन् ।

‘जहाज खरिद प्रक्रिया म मन्त्री बन्नुभन्दा अघिकै हो, म मन्त्री बनेको एक महिनाभित्र जहाज आएको थियो’, उनले भने, ‘यदि वाइडबढी खरिदमा मेरो गल्ति भेटिए, राजनीतिबाट सन्यास लिएर जोगी बन्छु ।’

मन्त्री अधिकारीले अख्तियार लगायत छानविन गर्ने निकायलाई आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘जहाज खरिद प्रकरणमा छानविन गर्ने निकायलाई सवै प्रकारको सूचना दिन र सहयोग गर्न तयार छु, यदी मेरो कहिँ कतै सानो गल्ति भेटिए म पदबाट त के राजनीति नै छोड्न तयार छु’, मन्त्री अधिकारीले भने ।

उनले जहाज खरिद प्रकरणमा आफुलाई दोषि देखाउन पार्टीभित्र र बाहिरको केही समूह सक्रिय भएको बताए । ‘सामाजिक सञ्जालदेखि पार्टीका बैठकसम्म हेर्ने हो भने पार्टीभित्र र बाहिर केही समूह मेरा बिरुद्ध सक्रिय छन्’, उनले भने ‘मैले गल्ति नगरेको हुँदा कुनै डर छैन ।’

Logo