१६ औं पटक अनसन बस्न डा. गोविन्द केसी इलाम पुगे

१६ औं पटक अनसन बस्न डा. गोविन्द केसी इलाम पुगे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । डा. गोविन्द केसीले आफ्नो १६ औं अनसन इलाममा बस्ने भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. केसी बुधबारदेखि अनसन बस्दैछन् । त्यसको लागि उनी इलाम पुगेका छन् ।

आफ्नो माग पूरा गर्न आजसम्मको अल्टिमेटम दिएका केसी सत्याग्रहको तयारीका लागि इलाम पुगेका उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए । केसीले १६ औं अनसनका लागि सरकारसँग ३ बुँदे माग राखेका छन् ।

पहिलो बुँदामा उनले १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् । उनले आफूसँग भएको सम्झौता बमोजिम अक्षरस संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न माग गरेका छन् ।

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गरेका छन् ।

दोस्रो मागमा निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् ।

तेस्रो बुँदामा केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।

 

Logo