प्रदेश २ को सरकारमाथि छानविनको माग गर्दै परराष्ट्रलाई पत्र

प्रदेश २ को सरकारमाथि छानविनको माग गर्दै परराष्ट्रलाई पत्र

केन्द्रबिन्दु
0
Shares

प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै तत्काल छानविन  गर्न सरकारसँग माग गरेका छन ।

शुक्रबार विहान प्रदेश २ का प्रतिनिधिसभा र प्रदेश सभाका ११ जना सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरिरहेको उल्लेख गर्दै छानवीन गर्न माग गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएका हुन ।

प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरिरहेकाले छानवीन गर्न सरकारसँग माग गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रभु साहले जानकारी दिए ।

सांसदहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, अन्य विशिष्ट कर्मचारीहरुलाई परराष्ट्र नीति संचालनका सम्बन्धमा आवश्यक प्रशिक्षण दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।

कूटनीतिक मर्यादा विपरितका गतिविधि हुन नदिन कूटनीतिक आचारसंहिता परिमार्जन गरी कडाईका साथ लागू गर्न पनि सरकारसँग माग गरिएको छ । संघीयता अनुकूल परिमार्जनगरी कूटनीतिक आचारसंहिताको पूर्ण पालना गराउन पनि सरकारलाई सचेत गराइएको प्रतिनिधिसभाका सांसद साहले बताए ।

सांसदहरुले प्रधानमन्त्री, मन्त्री, मुख्य राजनीतिक दलका नेताहरुले कूटनीतिक नियोगका प्रमुखहरुसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका अधिकारीहरु अनिवार्य रहने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन ।

त्यसैगरी परराष्ट्र मन्त्रालयको स्विकृतिविना प्रदेश सरकारलाई कूटनीतिक भेटघाट गर्न नदिन पनि सरकारलाई आग्रह गरिएको प्रतिनिधिसभाका सांसद साहले जानकारी दिए ।

ज्ञापन पत्रमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा अविलम्ब कार्यकारी निर्देशक नियुक्त गर्नुका साथै संघीयता अनुकूल उक्त संस्थाको पनि पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।

सांसदहरुको ज्ञापत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक आचारसंहिता परिमार्जनको क्रम सुरु भएको उल्लेख गर्दै तयार हुनेवित्तिकै त्यसलाई कडाईका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले मुलुक संघीयताको नयाँ चरणमा प्रवेश गरेकाले सोही अनुसारको कानुन बनाउने काममा ध्यान दिँदा कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा केही कमीकमजोर हुन गएको स्वीकार गर्दै आईन्दा त्यस्ता कमी हुन नदिने आश्वासन पनि सांसदहरुलाई दिएका थिए ।

२०६८ सालमा बनेको कूटनीतिक आचारसंहितालाई संशोधन गर्ने सरकारको तयारी छ । मन्त्री ज्ञवालीले सो आचारसंहिता संशोधन गरेपछि त्यसलाई कडाईका साथ कार्यान्वयनमा लैजाने स्पष्ट पारे ।

संविधानले व्यवस्था गरे अनुसार कूटनीतिक मर्यादा कायम गर्न/गराउन माग गर्दै परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाउने प्रदेश २ का प्रतिनिधिसभाका सांसदहरु प्रभु साह, लिलानाथ श्रेष्ठ, चाँदतारा कुमारी, दिल कुमारी, रेखाकुमारी झा, बोधमाया यादव, समिना हुसेन, सुमनराज प्याकुरेल रहनु भएको छ भने प्रदेश सभा सांसदहरुमा प्रमोदकुमार यादव, रामकुमार यादव र भरतप्रसाद साह रहेका छन् ।

Logo