अध्यक्ष ओली व्यस्त भएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

अध्यक्ष ओली व्यस्त भएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ। आइतबार अपरान्ह ४ बजेका लागि पार्टी कार्यालय धुम्बराहीमा डाकिएको बैठक प्रधानमन्त्री व्यस्त भएपछि स्थगित भएको हो ।

आइतवार ४ बजेका लागि बस्ने भनिएको बैठक प्रधानमन्त्री व्यस्त भएपछि एक घण्टाका लागि सारिएको थियो। तर सारिएको समयमा पनि प्रधानमन्त्रीसमेत रहेका ओली पार्टी कार्यालय धुम्बाराही नपुगेपछि आजका लागि स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाको बैठक अघि अध्यक्ष ओली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा ललितपुको बाडेगाउँमा गरिएको कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रम समापनमा ढिला भएसँगै प्रम ओली बैठकमा उपस्थित हुन नसकेका हुन् ।

बाडेगाउँमा ढिला गरी कार्यक्रम सकिएपछि प्रम ओलीले अर्को कार्यक्रम पनि भ्याएका थिए । ओली त्यो कार्यक्रमपछि राष्ट्रिय सभागृहमा सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलन उद्‍घाटन गर्न पुगे । त्यो कार्यक्रम पनि सकिन ढिला भएपछि ओली स्थायी समिति बैठकमा पुग्न नसकेको प्रवक्ता श्रेष्ठको भनाई छ ।

आज स्थगित भएपछि नेकपा स्थायी कमिटी बैठक बुधबार बिहान ८ बजे बोलाईएको छ । उक्त बैठकमा दुवै अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने छन् ।

Logo