काठमाडौंमा मोनोरेल संचालनका लागि डिपीआर तयार पार्ने समझदारी (भिडियोमा)

काठमाडौंमा मोनोरेल संचालनका लागि डिपीआर तयार पार्ने समझदारी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको चक्रपथमा मोनोरेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने जिम्मेवारी चाईना रेल वे २५ औं व्यूरो ग्रुप कम्पनी (सीआरसीसी) लाई दिइएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र सीसीआरसीका प्रमुख झ्यू ग्वाङबीङबीच काठमाडौंको चक्रपथमा मोनोरेल संचालनका लागि डिपीआर तयार पार्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । एक वर्ष भित्र डिपीआर तयार पारीसक्ने गरी समझदारी गरिएको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले जानकारी दिए ।

३ वर्ष भित्र सो रेल सेवा काठमाडौं र ललितपुर महानगरपालिका भित्र रहेको चक्रपथमा संचालन गर्ने योजना बनाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले संघीय सरकार र प्रदेश सरकारको समेत सक्रियतामा मोनोरेलको डिपीआर तयार पार्ने सहमति पत्रमा समझदारी गरिएको स्पष्ट पारे ।

डिपीआरको खर्च पनि चिनिया कम्पनी सिआरसीसीले नै व्यहोर्नेछ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले सो प्रतिवेदन ६ महिना भित्रै आउने विश्वास व्यक्त गर्दै त्यसपछि तत्काल मोनोरेल संचालन मार्ग निर्माणको काम सुरु हुने पनि स्पष्ट पारे । उनले मोनोरेल सेवा निर्माणका लागि टेन्डर आह्वान गरेर प्रक्रिया अघि बढाउने योजना पनि सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै चिनिया कम्पनी सिआरसीसीका प्रमुख झ्यूले डिपीआरसहित मोनोरेल सेवा संचालनका लागि निर्माण कार्य पूरा गर्न ५ वर्ष समय लाग्ने बताएका थिए ।

यता, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मोनोरेल संचालन गर्ने आफूहरुको सपना पूरा गर्न चिनिया कम्पनी सीआरसीसी सफल हुने विश्वास व्यक्त गरे । उनले सो रेल सेवा संचालनका लागि संघीय सरकार र प्रदेश सरकारको पनि सहायता लिने स्पष्ट पारे ।

यस अघि सीसीआरसीले नै सो रेल संचालनका लागि सम्भाव्यता अध्ययन तयार पारेको थियो । अध्ययन अनुसार काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ भित्र मोनोरेल संचालनका लागि करिव १ खरव १६ अरव लाग्नेछ ।

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले सो भन्दा कम लागतमा मोनोरेल संचालन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मोनोरेल संचालन भएसँगै काठमाडौंमा ट्राफिक जामको समस्या सदाका लागि समाधान हुने विश्वास गरिएको छ ।

Logo