कांग्रेस महासमिति बैठक परिसरमै हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन

कांग्रेस महासमिति बैठक परिसरमै हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक स्थलमै हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गरिएको छ । महासमिति बैठक चलिरहेको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गरिएको हो ।

कांग्रेसको विधान र संविधानमै सनातन हिन्दु राष्ट्र लेख्न दबाब दिन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेका प्रशान्तमान सिंह नेतृत्वको एक समूहले हस्ताक्षर संकलन गरेको हो । उक्त संकलित हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाईनेछ ।

‘जनतालाई सदैव सार्वभौम मान्ने हामी लोकतन्त्रवादीले धर्मका विषयमा बहुसंख्यक जनताको मागलाई सम्बोधन गर्न सकेनौं भने हामी लोकतान्त्रिक पार्टी कसरी हुन सक्छौं ?,’ हस्ताक्षर संकलन गर्ने ठाउँमा राखिएको प्रचार सामग्रीमा लेखिएको छ, ‘नेपाललाई सनातन हिन्दु राष्ट्रका रूपमा अंगिकार गर्ने गरी पार्टीको विधान र संविधान संशोधन हुनुपर्छ। यसका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्दै महासमिति सदस्यको हस्ताक्षर गरेका छौं।’

तीन सय बढी महासमिति सदस्यले उक्त अभियानमा हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका केही नेताहरुले हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्ने वा धर्म निरेपक्ष खारेजी गर्नुपर्ने माग राख्दैं आएका छन् ।

Logo