प्रचण्डप्रति ठट्टा गर्दै ओली भन्छन्, ‘मिल्ने भए दुवै जना प्रधानमन्त्री हुन्थ्यौं’

प्रचण्डप्रति ठट्टा गर्दै ओली भन्छन्, ‘मिल्ने भए दुवै जना प्रधानमन्त्री हुन्थ्यौं’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरेपनि सफल नहुने स्पष्ट पारे ।

देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाए ।

तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आईतबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको उल्लेख गरे ।

छेउमै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति फर्कदै प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुई जना नै प्रधानमन्त्री हुने भन्दै ठट्टा गरे ।

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भयानक प्रचार युद्ध भईरहेको दावी दावी गरे । उनले राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भईरहेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रहरी तालिम केन्द्र ३ दशक अघि पनौति सार्ने निर्णय भएपनि त्यसलाई अघि सारेर गणतन्त्र विरोधीहरुले राष्ट्रपति जस्तो मर्यादित संस्थामाथि निरन्तर आक्रमण गरिरहेको प्रधानमन्त्री ओलीको दावी छ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई विवादमा ल्याएर राजतन्त्र ल्याउने खोजिएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा सकेको योगदान गर्न पार्टीका कानुन व्यवसायीहरुलाई आग्रह गरे ।

उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच हुने अपुगलाई पूर्णता दिन पार्टीका कानुन व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले मुलुकलाई एकतावद्ध बनाउने अभियानमा पार्टीका सबै नेता, कार्यकर्ताहरुको उत्तिकै प्रयास आवश्यक रहेको बताए ।

Logo