काठमाडौंमै महल भएर पनि राज्यबाट घरभाडा बुझ्ने सांसद

काठमाडौंमै महल भएर पनि राज्यबाट घरभाडा बुझ्ने सांसद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राजधानीमै ठूला ठूला महल हुने सांसदहरुले राज्यबाट महिनैपिच्छे घरभाडा लिईरहेका छन् । यस्ता ३० जना सांसदहरु राजधानीमै घर भएरपनि घरभाडा लिईरहेका हुन् । अर्को अचम्मको कुरा के भने काठमाडौंमा महल छ नै उनीहरु समाजमा धनाढ्य भनेर चिनिएकादेखि उद्योगी, व्यापारी र दलका चर्चित नेतासम्म छन् ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन अनुसार काठमाडौं उपत्यकामा घर नहुने सांसद्ले घरभाडा बापत मासिक १८ हजार रुपैयाँ पाउँछन् । घर हुने सांसद्ले पनि घर मर्मत खर्च बापत मासिक ९ हजार रुपैयाँ पाउँछन् ।

सत्तारुढ नेकपाका १३ सांसदका काठमाडौंमै महलः
घर भएर पनि घरभाडा लिनेमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १३ जना सांसद रहेका छन् । यसरी मासिक १८ हजार घरभाडा भत्ता बुझ्ने सांसदहरुमा नेकपा संसदीय दलका उपनेता समेत रहेका सांसद् सुवासचन्द्र नेम्वाङ पहिलो नम्बरमा छन् ।

बालुवाटारस्थित रसियन दूतावास पछाडि घरभाडामा लिएर बसेका नेम्वाङले केही समयपछि त्यही घर खरीद गरे । अहिले उनी त्यही घरमा बस्छन् । इलाम–२ बाट निर्वाचित नेम्वाङले घर भाडा भन्दै मासिक १८ हजार बुझिरहेका छन् । यो रकम उनको बैंक खातामा जान्छ ।

त्यस्तै नेकपाका युवा नेता सांसद् योगेश भट्टराई, सांसद् पम्फा भुषाल, नेकपाकी सांसद् गोमा देवकोटा, नविना लामा, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, रामेश्वर राय यादव पनि घरभाडा लिने सभासद्को सूचीमा पर्छन् ।

नेकपाका पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित दलबहादुर रानाले पनि घरभाडा लिंदै आएको देखिन्छ । दोलखाबाट निर्वाचित नेकपाका सांसद् पार्वत गुरुङको बसुन्धरामा घर छ । उनको नाम पनि मासिक घरभाडा लिने सांसद्को सूचीमा छ ।

नेकपाका समानुपातिक सांसद् मोतीलाल दुगड, संसद्मा सरकारको समेत चर्को विरोध गर्ने मकवानपुर–२ बाट निर्वाचित सांसद् विरोध खतिवडा पनि ललितपुरमा घर भएका हुन् । उनी पनि संसद सचिवालयबाट घरभाडा वाफत मासिक १८ हजार बुझ्छन् ।

कांग्रेसका १२, राजपाका ३, फोरमका १ र स्वतन्त्र सांसद् १ः
काठमाडौंमै घर भएरपनि घरभाडा लिने सांसदहरुमा नेपाली कांग्रेसका १२, राजपाका ३, संघीय समाजवादी फोरमका १ र १ स्ववतन्त्र सांसद् छन् । आफुलाई काठमाडौंका रैथाने बताउने नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद भीमसेनदास प्रधान रहेका छन् । रक्षा मन्त्री समेत भइसकेका प्रधान काठमाडौं महानगरपालिका २७ का स्थायी बासिन्दा हुन् ।

१९ भदौ २०७४ मा रक्षा मन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंमा सगोलमा घर छ । तर, २०७४ फागुनयता उनले नियमित रूपमा घरभाडा लिइरहेको संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातामा पठाइदिने गरेको छ ।

त्यस्तै झम्सीखेलस्थित आइडल मोडल विद्यालयसँगैको बस्दै आएका नेपाली कांग्रेसबाट समानुपातिक सांसद् रहेका उमेश श्रेष्ठ पनि घर भाडा लिने सांसदको सूचीमा परेका छन् । ललितपुरको हात्तीवनस्थित लिटिल एन्जेल्सका सञ्चालक श्रेष्ठको विद्यालय परिसर मात्रै करीब ३०० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

त्यस्तै काठमाडौंमै घर भएरपनि राज्यबाट मासिक घरभाडा असुलिरहेका अर्का सांसद हुन्, कांग्रेसका समानुपातिक सांसद् चित्रलेखा यादव । पूर्व शिक्षामन्त्री समेत रहेका यादवको ललितपुरमा घर छ ।

कांग्रेसका समानुपातिक सांसद् दिव्यमणि राजभण्डारीको ललितपुरको कुन्तिमा घर, उदयपुर–१ बाट निर्वाचित कांग्रेस नेता नारायण खड्का, कर्मा घले, रामबहादुर बिष्ट, बहादुरसिंह लामा काठमाडौंमा घर भए पनि नियमित रूपमा घरभाडा लिने सभासद्मा पर्छन् ।

मासिक घरभाडा लिनेको सूचीमा कांग्रेसका अर्का सांसद् अमरेशकुमार सिंहको नाम पनि छ । उनको भैंसेपाटीमा घर छ । कांग्र्रेस सांसद् किशोरसिंह राठोरको पनि बालुवाटारमा घर छ । तर, राठोरले पनि मासिक घरभाडा लिइरहेको सचिवालयको विवरणबाट देखिन्छ ।

राजपा संयोजक राजेन्द्र महतो पनि घरभाडा लिने सभासद्मा पर्छन् । स्वास्थ्य मन्त्री हुँदा २०६८ कातिक २८ मा सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा महतोले काठमाडौंमा घर भएको उल्लेख गरेका थिए । धनुषा–३ बाट निर्वाचित महतो काठमाडौंमा घर भएपािन पार्किङको समस्याले घरभाडा लिईरहेको बताउँछन् । त्यस्तै संघीय समाजवादी फोरमकी नेतृ सरिता गिरी पनि घरभाडा लिने सूचीमा सूचीकृत छिन् । उनको विशालनगरमा घर छ ।

त्यस्तै राजपा नेता लक्ष्मणलाल कर्ण पनि काठमाडौंको बाँसबारीमा अपार्टमेन्ट भएरपनि घरभाडा लिदैं आएका छन् । हुम्ला क्षेत्र नम्बर १ बाट निर्वाचित स्वतन्त्र सांसद् छक्कबहादुर लामाको काठमाडौंमा घर छ । तर उनले पनि २०७५ असोजसम्म संसद् सचिवालयबाट घरभाडा लिइरहेको विवरणबाट देखिन्छ ।

सांसदहरुको अचम्मको प्रतिक्रियाः
काठमाडौंमै घर भएरपनि राज्यबाट मासिक घरभाडा बुझिरहेका सांसदहरुले अचम्मको प्रतिक्रिया दिएका छन् । उनीहरुले विभिन्न बाहना गरेर आफ्नो बचाउ गरेका छन् ।

आफ्नो बचाउँ गर्नेमा नेकपाकी सांसद रामकुमारी झाँक्री पनि छिन् । उनी भन्छिन्, ‘श्रीमान् र मेरा नाममा काठमाडौंमा घर छैन । हामी सगोलमा बस्छौं । यो पनि कानून विपरीत हो भने म पैसा फिर्ता गर्न तयार छु ।”

त्यस्तै सांसद यज्ञराज सुनुवार पनि आफ्नो बचाउँ गर्दै भन्छन्, ‘संसद् शुरु हुँदा कीर्तिपुरमा भाडाको घरमा बसेको थिएँ’ अहिले आफ्नै घरमा सरेको छु ।’

त्यस्तै योगेश भट्टराईले आफ्नो काठमाडौंमा घर रहेको स्वीकार गर्दै घरभाडा नलिएको दाबी गरे । ‘मेरो काठमाडौंमा घर छ । यही विवरण मैले संसद् सचिवालयमा दिएको छु । मैले घरभाडा बापत पैसा लिएको छैन ।’ तर, संसद् सचिवालयको अभिलेखमा २०७५ असोज महिनासम्म घरभाडा लिने सांसद्को सूचीमा भट्टराईको नाम १६१ नम्बरमा छ ।

त्यस्तै कांग्रेसका समानुपातिक सांसद् चित्रलेखा यादव पनि आफ्नो कदमका बचाउँमा लागेकी छन् । उनी भन्छिन्, ‘मेरो आफ्नै भन्ने कि नभन्ने, छोरीलाई दिन बनाएको घर हो यो, म यहीं बस्छु ।’

केहीले फिर्ता गर्दैः
काठमाडौंमै घर भएरपनि घरभाडा लिईरहेका केही सांसदहरुले भने आफ्नो भत्ता फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएका छन् । नेकपाका सुवासचन्द्र नेम्वाङ, पार्वत गुरुङ, गोमा देवकोटा, फोरमकी सरिता गिरी र स्वतन्त्र सांसद् छक्कबहादुर लामाले पनि यसअघि लिएको घरभाडा फिर्ता गर्ने प्रक्रिया शुरु गरोक छन् ।

त्यस्तै कांग्रेसका कर्मा घले, नारायण खड्का, दिव्यमणि राजभण्डारी, बहादुरसिंह लामाको राजधानीमा घर भएकोले पैसा फिर्ता गर्ने प्रक्रिया अघि बढेको संसद् सचिवालयका सूचना अधिकारी केशव अर्यालले जानकारी दिए ।

लिएको पाईए कानून बमोजिम कारवाही हुनेः
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले यसबारे अनुसन्धान भईरहेको बताएका छन् । यो कानून विपरित भएको भन्दै दोषी पाईए कारवाही गरिने चेतावनी दिए ।

झूटो विवरण बुझाएर सरकारी सम्पत्तिको दुरुपयोग गरे भ्रष्टाचार गरेको ठहरिने कानूनी प्रावधान रहेको छ । काठमाडौं उपत्यकामा घर हुँदाहुँदै पनि कसैले मेरो घर छैन भनेर घरभाडा लिन्छ भने स्वतः भ्रष्टाचार भएका अधिवक्ता शेरबहादुर ढुंगानाको भनाई छ ।

कानूनले के भन्छ ?

भ्रष्टाचार निवारण ऐन २०५९ ले, झूटा विवरण दिएर राज्यको सम्पत्ति दुरुपयोग गर्ने कामलाई समेत भ्रष्टाचार गरेको मानिने भनेको छ । ऐनको दफा १६ को उपदफा १ मा भनिएको छ, ‘लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झूटा विवरण दिएमा वा सो सम्बन्धी झूटा प्रमाणपत्र पेश गरेमा निजलाई कसुरको मात्रा अनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र दश हजारदेखि बीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

(हामीले यो सामग्री खोज पत्रकारिता केन्द्रको सहयोगमा तयार पारेका हौं–सम्पादक)

Logo