कांग्रेसको नजरमा कुन दल कस्ता ?

कांग्रेसको नजरमा कुन दल कस्ता ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपालाई दुइतिहाइको दम्भले सर्वसत्तावादी बनाएको, मधेसी दल जातीय क्षेत्रीयतावादी हुँदा लोकतन्त्रलाई सजिलो बनाउने बाटोमा नलागेको र राप्रपालाई राजतन्त्र फर्काउन लागेको अलोकतान्त्रिक पार्टीका रूपमा व्याख्या गरेको छ ।

२८ मंसिरदेखि हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रस्तावमा कांग्रेसले प्रमुख राजनीतिक दलबारे यस्तो टिप्पणी गरेको हो ।

कांग्रेसको नजरमा चार धारः
कांग्रेसले राजनीतिक प्रस्तावमा नेपालमा अहिले चारवटा राजनीतिक धार रहेको टिप्पणी गरेको छ । पहिलोमा आफैँलाई राख्दै राष्ट्रियतासहित स्वतन्त्रताको सार्वभौम सिद्धान्त, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र मान्ने विचार भएको उल्लेख गरेको छ ।

दोस्रो, एकदलीय निरंकुशता र जनवादी केन्द्रीयता लागू गर्न चाहने र जनताका स्वतन्त्रतामाथि नियन्त्रण गर्न चाहने कम्युनिस्ट विचारको नेकपा, तेस्रो परम्परावादी राजावादी दक्षिणपन्थी विचार र चौथोमा जातीय अतिवाद र क्षेत्रीय अतिवादका मधेसी दल रहेको कांग्रेसको टिप्पणी छ ।

सरकार संघीयताप्रति उदासीनः
संघीयताप्रति उदासीनता, संविधानप्रति अपनत्व विस्तारमा अवरोध, प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीकरण, विरोधी स्वर नियन्त्रणको प्रयत्न र सञ्चारमाध्यम र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेपको शैलीले सरकार अधिनायकवादको दिशामा अघि बढिरहेको आरोप लगाएको छ ।

नेकपाः एकदलीय वर्चस्व स्थापित गर्ने नियतः
कांग्रेसले संसद्मा दुईतिहाइसरहको शक्ति आर्जन गर्नासाथ लोकतन्त्रको आवरणमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी एकपछि अर्को गर्दै संविधानको भावना र मर्ममाथि प्रहार गरी शक्तिको दुरुपयोग गर्न लागेको भन्दै उसको लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ ।

‘यो एकताको मुख्य उद्देश्य नै लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट सत्ता र राज्यमा कम्युनिस्टहरूको एकतर्फी एकदलीय वर्चस्व स्थापित गर्ने नियत स्पष्ट छ,’ उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रस्तावमा भनिएको छ, ‘निर्वाचनपछि कम्युनिस्टहरूको एउटै दल बनाउने र राज्यलाई कम्युनिस्ट पार्टीअन्तर्गत चलाउने काम तीव्र रूपमा अगाडि बढिरहेको छ ।’ कम्युनिस्टहरूको लोकतान्त्रिक प्रक्रियामा सहभागिता एउटा छलछाम र धोखाधडी हो भन्न आफूहरू बाध्य भएको कांग्रेसको भनाइ छ ।

राप्रपाः लोकतन्त्रविरोधीः
निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गर्नुका साथै देशमा निरंकुश सत्ता कायम गरे पनि राप्रपाले संवैधानिक राजतन्त्रको मूल्य र मान्यतालाई पूर्णतः परित्याग नगरेको भन्दै लोकतन्त्र र लोकतान्त्रिक शक्तिविरुद्ध सक्रिय रहेको आरोप लगाएको छ ।

‘राजावादी एवं परम्परावादीहरूको दलका रूपमा चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न घटकहरूको जनताद्वारा विस्थापित राजतन्त्रलाई पुनस्र्थापना गर्नेलगायतका दृष्टिकोण र क्रियाकलाप लोकतान्त्रिक प्रणालीसँग मेल खाँदेैनन् भन्ने स्पष्ट छ,’ कांग्रेसले भनेको छ ।

मधेसी दलः क्षेत्रीय अतिवादीः
मधेसकेन्द्रित दलहरू लोकतन्त्रलाई सजिलो बनाउने बाटोमा नभएको आरोप कांग्रेसले लगाएको छ । ‘उनीहरूले उठाई आएका कतिपय जातिवादी, क्षेत्रीय अतिवादी तथा घोर साम्प्रदायिक कुराहरूले राष्ट्रियता, संघीयता तथा लोकतन्त्रलाई प्राथमिकता दिइरहेका छैनन्,’ मधेसी दलबारे भनिएको छ ।

नयाँ शक्ति र विवेकशीलका मान्यता स्थापित हुन बाँकीः
नयाँ दलका रूपमा उदाउँदै गरेका दुई दललाई भने कांग्रेसले फरक उपमा दिएको छ । नयाँ शक्ति पार्टी र विवेकशील साझाजस्ता दलहरूको आरम्भ भर्खर भएकाले उनीहरूको सिद्धान्त र मान्यता स्थापित नभइसकेको भनाइ कांग्रेसको छ ।

के छन् कांग्रेसको राजनीतिक प्रस्तावमा ?
कांग्रेसले संविधानसभाबाट संविधान निर्माण गर्ने दशकौँ लामोअघिको चाहना आफ्नै नेतृत्वमा संविधान बनाएर पूरा भएको भन्दै गर्वको विषय भएको जनाएको छ ।

राजनीतिक प्रस्तावमा राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संघीयतालाई कांग्रेसले प्रस्ट्याएको छ । यी मुद्दामध्ये संघीयताको कार्यान्वयनमा कतैबाट पनि हस्तक्षेप नसहने भनाइ कांग्रेसको छ । ‘प्रदेशहरू राज्यका स्वशासित एकाइ हुन् ।

केन्द्रबाट प्रदेश तथा स्थानीय सरकारमाथि संविधानविपरीत हस्तक्षेप गरिँदा कांग्रेस मौन बस्ने छैन । त्यस्तो हस्तक्षेपलाई सशक्त प्रतिवाद गर्ने र सक्रिय विरोध गरिनेछ,’ प्रस्तावमा भनिएको छ, ‘कांग्रेसका तर्फबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्यहरूले त्यस्ता विधानविपरीतका नियन्त्रणकारी कार्यको सक्रिय विरोध गर्नेछन् ।’

संविधानको विकास र प्रतिरक्षा, बहुलवादी खुला र समतामूलक संस्कृति, भ्रातृ तथा शुभेच्छुक संस्थालाई प्रभावकारी परिचालन गर्दा संगठन बलियो हुने विषय उल्लेख छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति शीर्षकमा कांग्रेसले परराष्ट्रनीतिमा सबैको एउटै आवाज, एउटै व्यवहार कायम गरेर कूटनीतिक मर्यादाको पालना गर्ने आन्तरिक राजनीतिमा बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय सिद्धान्तप्रति विश्वास भएको जनाएको छ ।

कमजोर हुनाको कारण नै उल्लेख छैनः
राजनीतिक प्रस्तावमा कांग्रेस निर्वाचनमा कसरी कमजोर भयो र अब के गर्ने भन्ने विषय प्रस्टताका साथ उठाइएको छैन । तर, नयाँ पुस्तालाई कांग्रेसका आदर्श, सिद्धान्त, आचरण र कर्मबारे अझ जानकार गराउनु आवश्यक भएको जनाएको छ ।

प्रस्तावमाथि भाग लिँदै केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कहाँ कमजोरी भयो र अब के गर्ने भन्नेमा प्रस्ट योजना नै नआउनु आश्चर्यको विषय भएको बताए ।

‘आगामी दिनमा कसरी बलियो पार्टी बनाउने ? निर्वाचनमा पराजित भएपछि नयाँ एजेन्डालाई कसरी उठाउने भन्नेमा विषयमा राजनीतिक प्रस्ताव मौन छ,’ जोशीले भने, ‘हामी किन यत्ति कमजोर भयौँ भन्नेमा सटिक विश्लेषण गर्नुपर्छ । अन्यथा हामी फेरि कमजोर हुन्छौँ ।’ नयाँ पत्रिका

Logo