पूर्व अर्थमन्त्रीहरुको सुझावपछि नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

पूर्व अर्थमन्त्रीहरुको सुझावपछि नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन पारित भएको छ । कांग्रेस केन्द्रिय कार्य समितिको सोमबार बसेको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको समितिले पेश गरेको आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो ।

पूर्व अर्थमन्त्रीहरु डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुले दिएको सुझावलाई समेत समेटेर सो प्रतिवेदन परिमार्जनसहित पारित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले पारित गरेको सो आर्थिक प्रतिवेदनमा केपी ओली नेतृत्वको सरकारले लिएको आर्थिक नीतिबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दावी गरिएको छ ।

त्यसैगरी प्रतिवेदनमा उत्पादनमा जोड दिएर गरिव जनताको पक्षमा आर्थिक पहुँचको विकास गर्नुपर्ने उल्लेख गरिएको छ । सरकारको निषेध र नियन्त्रणमुखि अर्थनीतिका कारण मुलुकमा वैदेशिक लगानी गत वर्ष भन्दा ७५ प्रतिशत घटेको तथा आन्तरिक लगानी पनि पलायन हुने क्रम बढेको कांग्रेसको निष्कर्ष छ ।

आगामी मंसिर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरु पारित गर्न कांग्रेस केन्द्रिय कार्य समिति बैठक जारी छ । भोलि (मंगलबार) बस्ने केन्द्रिय कार्य समिति बैठकमा भने राजनीतिक प्रतिवेदन पेश हुनेछ ।

पार्टीका उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नेछ । सो प्रतिवेदनमाथि भोली नै छलफल गरेर टुंगो लगाउने कार्यसूचि पनि तय गरिएको पार्टीका प्रवक्ता शर्माले बताए ।

यस अघि पेश गरिएको विधान संशोधन मस्यौदा प्रतिवेदनमाथि कांग्रेस केन्द्रिय कार्य समितिमा छलफल भईसकेको छ । सो प्रतिवेदनलाई केन्द्रिय सदस्यहरुले दिएको सुझावको आधारमा अन्तिम रुप दिने काम भईरहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पनि पेश गर्नेछ । सो प्रतिवेदन पनि छिट्टै केन्द्रिय कार्य समिति बैठकमा पेश हुने प्रवक्ता शर्माले जानकारी दिए ।

Logo