काठमाडौं–जनकपुर साईकल यात्रा सुरु

काठमाडौं–जनकपुर साईकल यात्रा सुरु

केन्द्रबिन्दु
0
Shares

ऐतिहासिक–सामाजिक–सांस्कृतिक सदभाव कायम गर्न आह्वान गर्दै काठमाडौं–जनकपुर साईकल यात्रा सूरु गरिएको छ ।

हिन्दु धर्मको पवित्र तीर्थस्थल काठमाडौंको पशुपतिनाथबाट ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै सो साईकल यात्रा शुभारम्भ गरिएको हो । आईतबार बिहान पशुपतिनाथ परिसरमा एक कार्यक्रमका बीच उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा र रुद्राक्षको माला साईकल यात्रीलाई लगाईदिएर सो साईकल यात्राको शुभारम्भ गर्नु भयो ।

८५ जना साईकल यात्री सहभागी रहेको सो साईकल यात्रा वीर पूर्खाहरुले तत्कालीन अंग्रेज शासकलाई हराएको ऐतिहासिक स्थल सिन्धुलीगढी हुँदै धार्मिक नगरी जनकपुरस्थित रामजानकी मन्दिरमा पुगेर समापन हुनेछ । जनकपुरमा विवाह पञ्चमीको अवसर पारेर सो साईकल यात्रा आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले यो साईकल यात्राले पर्यटकीय क्षेत्रको मात्रै नभएर मुलुकको राजनीतिक, आर्थिक तथा देशभक्तिको भाव जागृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले नेपाली वीरहरुले देशको रक्षाका लागि देखाएको वीरतापूर्ण संघर्षको पनि सो साईकल यात्राले स्मरण गराएको पनि बताए ।

आईतबार पशुपतिनाथबाट सुरु भएको सो साईकल यात्रा ४ दिनमा २ सय २५ किलोमिटर पार गरी जनकपुरस्थित जानकी मन्दिरमा पुगेर समापन हुनेछ ।

पशुपति क्षेत्र विकास कोषको संयोजनमा आयोजना गरिएको सो साईकल यात्रीलाई कमलामाई नगरपालिका, सुनकोशी नगरपालिका, बर्दिबास नगरपालिकाले पनि आ–आफ्नो क्षेत्रमा पुगेपछि स्वागत गर्ने कार्यक्रम छ ।

सामाजिक तथा सांस्कृतिक सदभाव कायम गर्न विगत केही वर्षयता काठमाडौं–जनकपुर साईकल यात्रा आयोजना हुँदै आएको छ ।

Logo